जिल्ला समन्वय समिति झापाको छैठौं जिल्ला सभा सम्पन्न

लक्ष्मी उप्रेती

झापा । जिल्ला समन्वय समिति झापाको छैठौं जिल्ला सभा बुधबार सम्पन्न भएको छ । जिल्ला समन्वय समितिको सभाहलमा सभा सम्पन्न भएको हो ।

जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ बरालको अध्यक्षतामा भएको सभामा जिल्ला समन्वय समिति झापाका उपप्रमुख शान्ता रोका क्षेत्रीले आर्थिक वर्ष २०७९–०८० को यथार्थ, आर्थिक वर्ष २०८०–०८१ को संशोधित अनुमान तथा आर्थिक वर्ष २०८१–०८२ को अनुमानित आयव्यय विवरण समेटिएको वार्षिक कार्यक्रम र बजेट अनुमोदनका लागि सभामा पेश गरेकी थिइन् ।
उपप्रमुख क्षेत्रीले आर्थिक वर्ष २०७९ (०८० को यथार्थ आय र व्यय प्रस्तुत गर्दै संघीय सरकारबाट प्राप्त संघीय सशर्त चालु अनुदान १ करोड ३१ लाख ९९ हजार रुपैयाँमध्ये १ करोड २० लाख ३७ हजार ६ सय ६१ रुपैयाँ खर्च भएर ११ लाख ६१ हजार ३ सय ३८ रुपैयाँ वचत रहेको जानकारी गराइन् ।

२०७८(०७९ मा आन्तरिक आयतर्फ अअघिल्लो वर्षबाट आएको वचत ९ करोड ५३ लाख २२ हजार १ सय ९६ रुपैयाँ र आन्तरिक आम्दानी ३ करोड ७१ लाख ९८ हजार ८ सय १३ रुपैयाँ पुगेको प्रस्तुत प्रतिवेदनमा छ । यसरी हेर्दा गत आर्थिक वर्षमा कुल आम्दानी १३ करोड २५ लाख २१ हजार १० रुपैयाँ भएको उपप्रमुख क्षेत्रीले जानकारी दिइन् । गत आर्थिक वर्ष भएको आम्दानीमध्ये कर्मचारी कल्याण कोषअन्तर्गत राष्ट्रिय वाणिज्य बैंकमा रहेको ३ करोड ४२ लाख ३९ हजार ६ सय ३८ रुपैयाँ राष्ट्र बाणिज्य बैंकबाट जिल्ला समन्वय समितिको आन्तरिक कोषमा आम्दानी बाँधिएको प्रतिवेदनमा छ । उपप्रमुख क्षेत्रीले चालु आर्थिक वर्ष २०८०÷०८१ को संशोधित अनुमानित आय प्रस्तुत गदैं संघीय सरकारबाट सशर्त चालु अनुदान १ करोड ४२ लाख ३२ हजार प्राप्त भएको जानकारी दिइन् ।
जिल्ला समन्वय समितिलाई नदीजन्य पदार्थको अनुगमन तथा मूल्ङ्कनका लागि स्थानीय तहहरुबाट ७ लाख, प्रदेश सरकारबाट १० लाख, संघीय संसद विकास कोषबाट कन्टिजेन्सीवापत ३० लाख र प्रदेश संसद विकास कोषबाट कन्टिजेन्सीवापत १५ लाख प्राप्त हुनेछ भने जिल्ला समन्वय समितिको आन्तरिक कोषतर्फ (साविकको मौज्दात कोष र कर्मचारी कल्याण कोषसमेत) को गतवर्षसमेतको १२ करोड ४४ लाख ७५ हजार ९ सय ७१ रुपैयाँ र चालु आवमा आन्तरिक आयतर्फ ४१ लाख ३० हजार ८ सय रुपैयाँ प्राप्त हुने अनुमान गरिएको उपप्रमुख क्षेत्रीले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।

उपप्रमुख क्षेत्रीले चालु आवको लागि खर्च सम्बन्धी विवरणसमेत प्रस्तुत गरेकी थिइन् । चालु आवमा पदाधिकारी तथा कर्मचारीको पारिश्रमिक तथा भत्तामा १ करोड १५ लाख ८६ हजार ७ सय ६५ तथा प्रमुखको सचिवालयको घर भाडाका लागि १ लाख ४४ हजार विनियोजन गरेको विवरण प्रस्तुत गरिन् ।

जिल्ला समन्वय समिति प्रमुख विश्वनाथ बरालले साविक जिविसबाट हस्तान्तरण भएर आएका तीन ठूला रुग्ण आयोजनाका बारेमा, नदीजन्य पदार्थको अनुगमन समितिको बैठक सञ्चालन सम्बन्धी कार्यविधि २०७७ बमोजिम प्रशासनिक खर्च सम्बन्धमा, समन्वय प्रमुखको मासिक इन्धनको कोटा वृद्घि सम्बन्धमा, जिससबाट पालिका स्तरीय अनुगमन सम्बन्धमा, संसद् विकास कोषको कन्टिजेन्सीबाट प्राप्त रकमले जिससको प्राङगणमा अगाडीको दक्षिण पूर्वी कुनामा पूर्वाधार निर्माण सम्बन्धमा समन्वय प्रमुखको सचिवालय दमक—३ मा सञ्चालन गर्नेलगायतका विषयमा सभालाई जानकारी गराएका थिए । उनले अहिले जिसस प्रमुखलाई मासिक २ सय ५० लिटर इन्धन दिए पनि ६ सय लिटरभन्दा बढी इन्धन खर्च भइरहेको हुँदा यसमा विचार पुर्याउन सदस्यहरुलाई आग्रह गरे ।

सभामा जिलाका स्थानीय तहका प्रमुख–उपप्रमुखहरुको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *