भद्रपुर नगरपालिकाद्वारा ६ पत्रकार र ४ खेलाडी पुरस्कृत

झापा । झापाको पहिलो नगरपालिका भद्रपुर नगरपालिकाले ६ जना पत्रकार र चारजना खेलाडीलाई पुरस्कृत गरेको छ । नगरपालिकाले नगरसभाको १३ औं अधिवेशनको अवसरमा बुधबार पुरस्कृत गरेको हो ।
भद्रपुरका अग्रज पत्रकार तथा साहित्यकार नकुल काजी र अग्रज पत्रकार गोविन्दचन्द्र छेत्रीलाई ‘जीवनपर्यन्त योगदान पुरस्कार’ प्रदान गरिएको छ । भद्रपुरलाई कर्मथलो बनाएर लामो समयदेखि पत्रकारिता गरिरहेका काजी र छेत्रीलाई दोसल्ला ओढाएर सम्मानपत्रसहित नगद ३० हजार प्रदान गरिएको छ । त्यस्तै, नौलो आवाज साप्ताहिकका सम्पादक दीपक अधिकारी र वरुण साप्ताहिकका कार्यकारी सम्पादक लेखनाथ परदेशीलाई ‘‘नगर विकास पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ । अधिकारी र परदेशीलाई सम्मानपत्रसहित नगद १५ हजार प्रदान गरियो । पत्रकार रेवतीराज घिमिरे र वरुण साप्ताहिककी सम्पादक र्इशा प्रधानलाई ‘प्रोत्साहन पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ । घिमिरे र प्रधानलाई सम्मानपत्रसहित नगद १० हजार प्रदान गरियो ।

त्यसैगरी खेलकुद क्षेत्रमा योगदान पुर्‍याउने कोसी प्रदेश क्रिकेट टिमका कप्तान अङ्कित सुवेदी, प्रसिद्ध भक्तराज लवट, मेनुका पौडेल र सोनीदेवी दासलाई पनि पुरस्कृत गरिएको छ । उनीहरूलाई सम्मानपत्रसहित जनही नगद २१ हजार प्रदान गरियो । पुरस्कृत हुने पत्रकार र खेलाडीहरूलाई नगरपालिकाका प्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की, प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाले दोसल्ला ओढाएर सम्मानपत्रसहित चेक प्रदान गरेका थिए ।

प्रेस क्लब भद्रपुरको सहजीकरणमा नगरपालिकाले आर्थिक वर्ष २०७९÷०८० र २०८०÷०८१ गरी दुई वर्षको पुरस्कार एकैपटक वितरण गरेको छ । नगरपालिकाले ‘जीवनपर्यन्त योगदान पुरस्कार’ थप गरेको हो । यसअघि नगरपालिकाले नगर विकास र प्रोत्साहन पत्रकारिता पुरस्कार मात्रै प्रदान गर्दै आएको थियो । नगर प्रमुख पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा सम्मानित अग्रज पत्रकार काजी, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन शिक्षा शाखाका कर्मचारी योगेन्द्र पौडेलले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *