रोशन र तृषा ‘झापा स्पोर्टस् अवार्ड’को वर्ष उत्कृष्ट खेलाडी

झापा । नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय शाखा झापाले आयोजना गरेको पाँचौँ झापा स्पोर्टस् अवार्ड वर्ष उत्कृष्ट पुरुष खेलाडीको उपाधि आईटीएफ तेक्वान्दोका रोशन मगर र महिला खेलाडीको उपाधि बक्सिङकी तृषा जवेगूले प्राप्त गरेका छन् ।

उनीहरुलाई २०७९ मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा हिजो साँझ भएको पाँचौँ स्पोर्टस् अवार्डमा वर्ष उत्कृष्ट खेलाडी घोषित गरिएको हो । उहाँहरुले नगद एक–एक लाख, ट्रफी र गिफ्ट ह्याम्पर प्राप्त गरे ।

त्यस्तै, लाइफ टाइम अचिभमेन्ट अवार्डबाट ओलम्पियन मेनुका राउतलाई सम्मान गरिएको छ । उनलाई नगद ५० हजार, ट्रफी र गिफ्ट ह्याम्परले सम्मान गरिएको छ ।

उत्कृष्ट खेल पत्रकारिता पुरस्कारबाट रमेश समदर्शीलाई सम्मान गरियो । एनएसजेएफ झापाका संस्थापक अध्यक्ष समदर्शीलाई नगद ३५ हजार र ट्रफीले सम्मान गरिएको हो ।

त्यस्तै, स्पेशल अचिभमेन्ट अवार्डबाट फिफा रेफ्री श्याम दनुवारलाई सम्मान गरिएको छ । उनलाई नगद २५ हजार र ट्रफीले सम्मान गरिएको हो । २०७९ मा प्रदर्शन गरेको आधारमा वर्ष उत्कृष्ट युवा खेलाडीमा पौडीका प्रारम्भ भण्डारी, पिपुल्स च्वाइस अवार्डबाट क्रिकेटकी रुविना क्षेत्री र वर्ष उत्कृष्ट प्रशिक्षकमा बक्सिङका डम्बर लिम्बू घोषित हुनु भयो । उहाँहरुले जनही २५ हजार नगद र ट्रफी पुरस्कार प्राप्त गरे ।

२०७३ सालबाट सुरु भएको झापा स्पोर्टस् अवार्डको यो पाँचौँ संस्करण हो । यस पटक खेलकुद पत्रकार मञ्च झापाले २०७९ सालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रदर्शन गर्ने झापाली खेलाडी तथा खेल प्रतिभालाई सम्मान गरेको हो ।

आगामी वर्ष थप परिस्कृत गर्दै अवार्डलाई निरन्तरता दिने मञ्चका अध्यक्ष इन्द्रजीत मुखियाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *