विर्तामोड उद्योग वाणिज्य संघको नयाँ कार्यसमितिले सम्हाल्यो कार्यभार

झापा । झापामा सर्वाधिक सदस्य संख्या रहेको विर्तामोड उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिले आइतबारदेखि औपचारिक रुपमा पदभार ग्रहण गरेको छ । आइतबार अतिथि सदनको सभाहलमा आयोजित समारोहका बीच सङ्घका अध्यक्ष प्रकाश शिवाकोटीले नवनिर्वाचित अध्यक्ष राजु न्यौपानेलाई पदभार सुम्पिएका हुन् । शिवाकोटीले न्यौपानेलाई संघको माइन्यूट बुक हस्तान्तरण गरेका थिए ।


कार्यक्रमको पहिलो सत्र शिवाकोटीको अध्यक्षतामा र दोस्रो सत्र न्यौपानेको अध्यक्षतामा सञ्चालन भएको थियो । पहिलो सत्रको सञ्चालन महासचिव अर्जुनकुमार मैनाली र दोस्रो सत्रको सञ्चालन नवनिर्वाचित महासचिव कुशल खतिवडाले गरेका थिए ।

समारोहमा निर्वाचन समितिका संयोजक नारायणप्रसाद पौडेलले नवनिर्वाचित अध्यक्ष न्यौपानेलाई सपथ गराएका थिए भने अध्यक्ष न्यौपानेले बाँकी पदाधिकारी र सदस्यहरुलाई सपथ गराएका थिए ।


नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष हेमराज ढकालको प्रमुख आतिथ्यमा आयोजित समारोहमा कलाकार विल्सनविक्रम राई, सञ्चारकर्मी विष्णु श्रेष्ठ र व्यवसायी कुमार निरौलालाई सम्मान गरिएको थियो ।

समारोहमा विदाइ मन्तव्य राख्दै निर्वतमान अध्यक्ष शिवकोटीले आफूले कोरोनाको संक्रमणको अवस्थामा नेतृत्व लिएको र मानवीय सेवाका क्षेत्रमा धेरै काम गरेको बताए । उनले व्यवसायीको हितमा काम गर्दै पाँच लाख रुपैंयाको व्यावसायिक राहत कोष स्थापना गर्नुका साथै कोरोनाको संक्रमणका समयमा व्यवसायी तथा मजदुरहरुलाई कोरोनाविरुद्धको खोप अभियान सञ्चालन गर्नुका साथै वाणिज्य संघको गेट निर्माण लगायतका काम गरेको बताए । उनले ब्यवसाय प्रर्वद्धनका लागि औद्योगिक कृषि पर्यटन महोत्सव सञ्चालन गर्नुका साथै बैंकको चर्को ब्याजदरविरुद्ध ब्यवसायीको पक्षमा आवाज उठाएको बताए ।

समारोहका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष ढकालले १२ वटा बुँदामा कानुन संशोधन हुन लागेको बताउँदै त्यो संशोधन भएपछि अहिले देखिएको ब्यसायीको आर्थिक समस्या समाधान हुने विश्वास व्यक्त गरे । उनले सरकरले निर्माण व्यवसायीले पाउनुपर्ने रकम नदिएकाले समस्या भएको भन्दै त्यसतर्फ ध्यान दिन सरकारलाई आग्रह गरे । निजी क्षेत्रलाई चलामयमान बनाउन महासंघले विभिन्न पहलहरु गरिरहेको उनको भनाईथियो । स्थानीय व्यवसायीको संरक्षण स्थानीय सरकारले गर्नुपर्ने भन्दै त्यसतर्फ लाग्न आग्रह गर्दै उनले व्यवसायीको हितमा काम गर्न संघको नवनिर्वाचित टिमलाई पनि आग्रह गरे । उनले अहिले देशको अर्थतन्त्र धर्मराएको भन्दै निजी क्षेत्रको संरक्षणमा सरकारले चासो दिनुपर्ने बताए ।

समारोहमा नेपाल उद्योग वाणिज्य महासंघका उद्योग केन्द्रीय सदस्य एवम् मेला समितिका सभापति उमेश डालमिया, केन्द्रीय सदस्य नरेन्द्रकुमार खड्का, बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, नेपाली कांग्रेस, झापाका उपसभापति एवम् नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य केशवराज पाण्डे, एमालेका जिल्ला उपाध्यक्ष शिव ढुङगेल, राप्रपा अध्यक्ष केशव ओझा, चिया श्रमिक संघका केन्द्रीय अध्यक्ष दिपक तामाङ, नेपाल अलैँची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष निर्मल भट्टराई, विर्तामोड १ का वडाध्यक्ष अग्निप्रसाद पाण्डे, मेची भन्सार प्रमुख रामप्रसाद रेग्मी, सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपाललगायतले शुभकामना मन्तव्य राखेका थिए ।
समारोहमा निर्वतमान जनसम्पर्क उपाध्यक्ष नैनाकला भट्टराईले स्वागत गरेकी थिइन् । सोही अवसरमा विर्तामोड उद्योग वाणिजय संघको नवनिर्मित प्रवेशद्वारको समेत उद्घाटन गरिएको थियो ।
२०८० फागुन १४ मा भएको निर्वाचनबाट न्यौपाने नेतृत्वको समिति निर्वाचित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *