भद्रपुरमा हात्तीपाइले रोगविरुद्धको औषधि सेवन नगर्नेको सेवासुविधा रोकिने

भद्रपुर । झापाको सदरमुकाम रहेको भद्रपुर नगरपालिकाका नागरिकले यसपटक हात्तीपाइले रोगविरुद्धको औषधि सेवन नगरे नगरपालिकाले प्रदान गर्ने सेवा–सुविधामा रोक लगाउने भएको छ ।

अघिल्ला वर्षहरुमा आम औषधि सेवनको प्रगति निराशाजनक भएपछि यस वर्ष नगरपालिकाले अभियान सफल बनाउने र सबैलाई औषधि खुवाउने उद्देश्यअनुरुप आषधि नखानेहरुको सेवा–सुविधा रोक्ने निर्णय गरिएको नगरप्रमुख गणेश पोखरेलले बताए । यसका लागि हात्तीपाइलेरोगविरुद्धको औषधि खाएको प्रमाणका लागि औषधि सेवन कार्ड नै जारी गरिएको उनले । अभियानपछि नगरपालिका वा वडामा सेवा लिन आउने नागरिकले अनिवार्य रुपमा कार्ड देखाउनुपर्नेछ । कार्ड नदेखाए सेवा रोकिने नगरप्रमुख पोखरेलको भनाइ छ ।

हात्तीपाइले रोग निवारण अभियानअन्तरगत झापा जिल्लामा यही बैशाख १६ देखि २२ गतेसम्म राष्ट्रिय आमऔषधि खुवाउने कार्यक्रम हुँदैछ । यो १३ औं पटकको कार्यक्रम हो । सन् २०१२ देखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाउने अभियान जिल्लामा सफल नभएपछि यसपटक अभियानलाई अन्तिम बनाउन सबै स्थानीय तह, जनप्रतिनिधि, कर्मचारी, प्रहरी, प्रशासन लागिपरेका छन् ।

अघिल्लो वर्ष भद्रपुरमा ५३.३ प्रतिशतले मात्र औषधि सेवन गरेको नगरपालिकाको स्वास्थ्य शाखाका फोकल पर्सन मनोज भट्टराईले जानकारी दिए । सो वर्ष ६८ हजार ६२४ जनामध्ये ३६ हजार ६७० जनाले मात्र औषधि सेवन गरे भट्टराईको भनाइ छ । यस वर्ष शतप्रतिशत पुर्याउने गरी तयारी भइरहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *