अन्तर्राष्ट्रिय युवा दिवसमा भद्रपुरमा मिनी म्याराथन ः महिलातर्फ समीक्षा र पुरुषतर्फ करण प्रथम

झापा । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर झापाको सदरमुकाम रहेको भद्रपुर नगरपालिकाले आज मिनी म्याराथन दौैड प्रतियोगिता आयोजना गरेको छ ।

भद्रपुरका पर्यटकीय स्थलहरूको प्रवर्द्धनसमेत गर्ने उद्देश्यले आज विहान धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थल किच्चकबधबाट नगरपालिकाको नगर युवा परिषद्ले आयोजना गरेको मिनी म्याराथन ऐतिहासिक चन्द्रगढमा पुगेर सकिएको थियो । प्रतियोगितामा महिलातर्फ समीक्षा शेर्मा र पुरुषतर्फ करण राउत प्रथम भए । नेपाली सेनाकी समीक्षाले १० किलोमिटर दौड ३६ मिनेट २४ सेकेन्डमा र करणले १७ किलोमिटर दौड १ घण्टा ५ मिनेटमा पूरा गरेका थिए ।

त्यस्तै प्रतियोगितामा महिलातर्फ नेपाली सेनाकी धनकुमारी मगर द्वितीय, पुष्पा लिम्बु तृतीय र आकृति लिम्बु चौथो भए भने पुरुषतर्फ सरोज सिंह द्वितीय, नेपाली सेनाका अञ्जन राई तृतीय र सुदीप लुम्बा चौथो भए ।

भद्रपुर ९ स्थित चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूह परिसरमा आायेजित समापन समारोहमा विजेताहरुलाई क्रमशः ११ हजार, ७ हजार, ५ हजार र ३ हजारले पुरस्कृत गरिएको थियो । विजेताहरुलाई भद्रपुर नगरप्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की, प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला, ९ नं. वडाध्यक्ष रामप्रसाद दाहाल, चन्द्रगढी सामुदायिक वनका अध्यक्ष दुर्गाप्रसाद भट्टराई, नगर युवा परिषरका कार्यकारी उपाध्यक्ष आरोग्य तिम्सिनालगायतले विजेताहरुलाई नगद पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए । दौडमा सहभागी १०८ जनालाई पनि प्रमाणपत्र वितरण गरिएको थियो । नगर युवा परिषद्ले यस पटक पर्यटकीय स्थलहरूको प्रवर्द्धनका लागि किचकबधदेखि चन्द्रगढसम्मको दौड गराएको थियो । पुरुषहरूले किच्चकबधबाट दौड सुरु गरेका थिए भने महिलाहरुको दौड झापाचोकबाट सुरु भएको थियो ।

विहान किचचकबधमा नगरप्रमुख पोखरेलले दौडको उद्घाटन गरेका थिए । सो अवसरमा निवर्तमान नगरप्रमुख जीवनकुमार श्रेष्ठ, २ नं वडाध्यक्ष रामबहादुर कँडेल, प्रहरी उपरीक्षक मिलन केसी, सशस्त्र प्रहरी उपरीक्षक कविन्द्र राई, भद्रपुर झापा गोल्डकपका अध्यक्ष दीपेश ढकाल, किच्चकवध संरक्षण समितिका अध्यक्ष दलबहादुर थेवेलगायतको सहभागिता थियो । कार्यक्रमको सञ्चालन नगर युवा परिषदका सदस्य सचिव योगेन्द्र पौडेलले गरेका थिए ।

मिनी म्याराथनमा एथलेटिक्सका प्रशिक्षकहरु डम्बर कुँवर, कुमार श्रेष्ठ र गोपाल यादवले सहजीकरण गरेका थिए भने नेपाल रेडक्रस सोसाइटी झापा, प्रादेशिक अस्पताल भद्रपुरको प्राविधिक सहयोग रहेको थियो ।

कार्यक्रममा अध्यक्ष नगर प्रमुख गणेश पोखरेलले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा स्थानीय पर्यटकीय स्थलहरूको प्रवर्द्धनका लागि मिनी म्याराथन आयोजना गरिएको बताए । भद्रपुरमा मिनी म्याराथनको यो तेस्रो संस्करण हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *