झापामा अलैंची प्रशोधन उद्योग सञ्चालनमा

अनिल ढुंगाना

झापा । नेपालको बहुमूल्य निर्यातजन्य कृषिवस्तु अलैंची प्रशोधन गरी विभिन्न वस्तु उत्पादन गरेर तेस्रो मुलुकसम्म निर्यात गर्ने उद्देश्यले झापाको विर्तामोडमा नेपाल एभरेष्ट कार्डामम प्रोडक्सन एण्ड प्रोसेसिङ उद्योग सञ्चालनमा आएको छ ।

अलैंची निर्यात व्यवसायी ओमकृष्ण विमलीको नेतृत्वमा झापाको विर्तामोड–४, आनन्दगञ्जमा उद्योग सञ्चालनमा आएको हो । सोमबार उद्योग परिसरमा आयोजित एक समारोहका बीच प्रमुख अतिथि कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेन सिंह हाङ्गामले उद्योगको उद्घाटन गरेका छन् ।

उद्योगका अध्यक्ष ओमकृष्ण विमलीको अध्यक्षतामा आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री हाङ्गामले उत्पादनको ठूलो हिस्सा भारत निर्यात हुने र त्यहाँबाट अर्कै नाममा विश्वबजारमा पुग्ने नेपाली अलैंची प्रशोधन गरी त्यसका उत्पादनहरु नेपाली नामबाट विश्व बजारमा पुर्याउने उद्देश्यले उद्योग स्थापना हुनु सखद विषय भएको भन्दै प्रदेश सरकारका तर्फबाट उद्योगलाई सक्दो सहयोग हुने प्रतिबद्धता जनाए । उनले विश्व बजारमा नेपाली अलैंचीको माग उच्च रहे पनि विविध कारणले मागअनुसार नेपाली पहिचानका साथ अलैंची विश्व बजारमा पुर्याउन नसकिरहेको परिप्रेक्ष्यमा व्यवसायीले नै यसको प्रशोधनका लागि गरेको प्रयास सराहनीय रहेको भन्दै मन्त्री हाङ्गामले यहाँ उत्पादित तयारी वस्तु बजारीकरणका लागि पनि प्रदेश सरकारले सहयोग गर्ने बताए ।

समारोहमा संघीय सरकारको वाणिज्य मन्त्रालयअन्तर्गतको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले निकासीजन्य वस्तुमा सूचीकृत अलैंचीको मूल्यमा बृद्धिसहित निर्यातका लागि केन्द्रले विगतदेखि नै भूमिका निर्वाह गर्दै आइरहेको बताउँदै नेपाल एभरेष्ट कार्डामम् प्रोडक्सन एण्ड प्रोसिङ प्रा. लि.बाट उत्पादित तयारी वस्तुहरुको स्वदेशी तथा विदेशी बजारीकरणका प्रक्रियामा सहजीकरण गर्न सहयोग रहने उल्लेख गरे ।


उद्योगकी निर्देशक पार्वता विमली खरेलले स्वागत र सञ्चारकर्मी केशव भट्टराईले सञ्चालन गरेको समारोहमा विर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईं, झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद वाँस्तोला, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमिया, उद्योगलाई प्राविधिक तथा मेशिनरी सहयोग उपलब्ध गराउँदै आएको युएसआईडीको ट्रेड एण्ड कम्पेटिटिभनेसका प्रवक्ता जेसन सुकलगायतले आर्थिक मन्दीले विश्व बजार नै धर्मराइरहेको बेला स्थापित यो उद्योगबाट हुने गुणस्तरीय उत्पादनले स्वदेशी तथा विदेशी बजारमा आफ्नो छाप छोड्न सफल हुने र स्वदेशमै रोजगारी सिर्जना गर्नसक्ने विश्वास व्यक्त गरे ।

उद्योगले पहिलो चरणमा अलैंची चिया मसाला, अलैंचीमिश्रित गरम मसला, अलैंचीबाट बनेको लगाउने तेल उत्पादन गर्नुका साथै ‘एभरेष्ट शान’ ब्राण्डमा अलैंची ब्राण्डिङ गरी स्वदेशी तथा विदेशी बजारमा पुर््याउन सुरु गरेको उद्योगका अध्यक्ष विमलीले जानकारी दिए ।
यो उद्योगका उत्पादनहरुको विश्व बजारमा प्रचार–प्रसार बढाउन र व्यवसाय विस्तारका लागि अलैंची अधिक खपत हुने खाडी मुलुकको दुबईमा बिक्री केन्द्र पनि सञ्चालन गरिसकिएको र त्यहाँ उद्योगका प्रवन्ध निर्देशक प्रज्वल विमलीले बजार विश्लेषण गरिसकेको पनि अध्यक्ष विमलीले जानकारी दिए ।
झापामा यो अलैंची प्रशोधन उद्योग दोस्रो हो । यसअघि अर्जुनधारामा नेपाल अलैंची व्यवसायी महासंघका अध्यक्ष तथा अलैंची निर्यातकर्ता निर्मल भट्टराईको नेतृत्वमा उद्योग स्थापना भई सञ्चालनमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *