झापा । झापाको भद्रपुर १० स्थित वीरेन्द्र नमूना क्याम्पसको १६ औं क्याम्पस सभा आज सम्पन्न भएको छ ।
क्याम्पसको सभाहलमा आयोजित एक समारोहका बीच भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले दीप प्रज्वलन र व्यानर वाचन गरेर उद्घाटन गरेका थिए ।
क्याम्पस व्यवस्थापन ससमितिका अध्यक्ष टिकाराज ढकालको अध्यक्षतामा आयोजित सभामा अध्यक्ष ढकालले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने लेखा समितिका सदस्य अम्बिका ढकालले लेखा समितिको प्रतिवेदन र बजेट तर्जुमा समितिका सदस्य यादवप्रसाद पोखरेलले आ. व. ०८०÷०८१ को यथार्थ आम्दानी–खर्च तथा आ. व. ०८१÷०८२ को प्रस्तावित आय–व्ययको विवरण प्रस्तुत गरेका थिए ।
विवरण अनुसार क्याम्पसले आ. व. ०८०÷०८१ मा विभिन्न शीर्षकमा एक करोड ४० लाख ९७ हजार ७५७ रुपैयाँ आम्दानी गरेको छ भने एक करोड १९ लाख ६६ हजार आठ रुपैयाा खर्च गरेको छ । यसैगरी, क्याम्पसले आ. व. ०८१÷०८२ का लागि दुई करोड ५६ लाख २२ हजार ६३५ रुपैयाँको बजेट प्रस्ताव गरेको छ ।
क्याम्पसका उप–प्राध्यापक झमकबहादुर वस्नेतले सञ्चालन र क्याम्पस प्रमुख विवेक पोखरेलले स्वागत गरेको समारोहमा स्नातक तहको विभिन्न सेमेस्टारमा सर्वोत्कृष्ट हुने विद्यार्थीलाई नगदसहित सम्मान गरिएको थियो भने क्याम्पस व्यवस्थापन समितिका पूर्व अध्यक्ष पुष्पराज पोखरेल र संस्थापक क्याम्पस प्रमुख टेकनाथ उप्रेतीलाई दोसल्ला ओढाएर सम्मानपत्रसहित सम्मान गरिएको थियो ।
त्रिभुवन विश्वविद्यालयको सम्बन्धन प्राप्त वीरेन्द्र नमूना क्याम्पसमा हाल स्नातक तहको व्यवस्थापन संकायमा २३४ र शिक्षाशास्त्र संकायमा २२३ गरी ४५७ विद्याथी अध्ययनरत रहेको क्याम्पस प्रमुख पोखरेलले जानकारी दिए । क्याम्पसमा छात्राको संख्या बढी छ । केही वर्षयता स्नातक तहको अध्यापनका लागि पनि विद्यार्थी विदेश जान थालेपछि क्याम्पसमा विद्यार्थीको संख्या घट्दै गएको र यसले क्याम्पस सञ्चालनमा प्रभाव पर्न थालेको पोखरेलले बताए ।
समारोहमा प्मुख अतिथि नगरप्रमुख पोखरेलले क्याम्पसमा समयसापेक्ष प्रविधिमैत्री शिक्षा प्रदान गर्नुपर्ने आवश्यकता रहेको बताउँदै त्यसका लागि नगरपालिकाले गर्नसक्ने सहयोग उपलब्ध हुने बताए । समाारेहमा वडा नं १० का वडाध्यक्ष टेकबहादुर खड्का ‘काजी’, सम्मानित व्यक्तित्व पुष्पराज पोखरेललगायतले शुभकामना मन्तव्य राखेका थिए ।
क्याम्पस सभाले अध्यक्ष ढकालद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन, लेखा समितिको प्रतिवेदन र बजेट तर्जुमा समितिको प्रतिवेदन पारित गरेको थियो ।