झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भद्रपुर नगर समिति अध्यक्षमा उद्यमी राजकुमार राई चयन भएका छन् । भद्रपुरमा शनिबार सम्पन्न राप्रपाको पाँचौँ नगर अधिवेशनले राईलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको हो । अधिवेशनले ३५ सदस्यीय समिति चयन गरेको छ । विधानअनुसार पहिलो बैठकले उपाध्यक्ष, सचिव, कोषाध्यक्ष लगायतका पदाधिकारी मनोनीत गर्ने जनाइएको छ ।
अधिवेशनको उद्घाटन गर्दै पार्टीका अध्यक्ष एवम् झापा क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य राजेन्द्रप्रसाद लिङदेनले देश विकास गर्ने एक मात्र वैकल्पिक पार्टी राप्रपा भएको भन्दै नवनिर्वाचित कार्यसमितिलाई इमानदार भएर देश र जनताको पक्षमा प्रभावकारी काम गर्न निर्देशन दिए ।
कार्यक्रममा राप्रपाका सहायक महामन्त्री भारतेन्दुकुमार मल्लिक, केन्द्रीय सदस्यहरू अञ्जरा आलम, डिवि थापा, प्रदेश सभा सदस्य निमसरी राजवंशी, राप्रपा जिल्ला अध्यक्ष केशवप्रसाद ओझा, सचिव अभिषेक ढुङ्गाना, कुमार थापा, भद्रपुर नगरपालिका उपप्रमुख राधा कार्की, हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्रप्रसाद लिङदेन, पूर्वप्रहरी संगठन भद्रपुरका अध्यक्ष अम्बिका पोखरेललगायत नेता–कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो ।
समारोहमा पार्टीका अग्रजहरूलाई सम्मान गरिएको थियो भने विभिन्न पार्टी परित्याग गरी राप्रपामा प्वेश गरेमन करिब ८० जनालाई अध्यक्ष लिङदेनले अबिर लगाएर पार्टीमा स्वागत गरेका थिए ।
राप्रपा भद्रपुर नगर संयोजक सीता लम्सालको अध्यक्षतामा आयोजित समारोहको सञ्चालन माधव पोखरेलले गरेका थिए।