झापाबाट १० महिनामा ३२ हजार मानिस वैदेशिक रोजगारीमा

झापा । झापाबाट चालु आर्थिक वर्षको १० महिनामा वैदेशिक रोजगारको सिलसिलामा ३२ हजार बढी मानिस विदेशिएका छन् । त्यसमा युवाको संख्या धेरै छ भने महिलाको संख्या १९ प्रतिशत रहेको छ ।

वैदेशिक रोजगारीको सिलसिलामा चालू आर्थिक वर्ष २०८१÷०८२ को वैशाख मसान्तसम्म ३२ हजार २९ जना विभिन्न मुलुक गएको सुरक्षित आप्रवासन (सामी) कार्यक्रम झापाका संयोजक शेखर बुढाथोकीले जानकारी दिए ।

जिल्लाबाट साउन महिनामा दुई हजार छ सय ६३, भदौमा दुई हजार पाँच सय ७५, असोजमा दुई हजार पाँच सय ४५, कात्तिकमा तीन हजार पाँच सय ११, मंसिरमा चार हजार ४६, पुसमा तीन हजार ६६, माघमा तीन हजार पाँच सय ४६, फागुनमा तीन हजार दुई सय ४०, चैतमा तीन हजार दुई सय ९५ जना र बैशाखमा तीन हजार पाँच सय २५ जना रोजगारको खोजीमा विदेशिएको संयोजक बुढाथोकीले बताए ।

वैदेशिक रोजगारीका मुख्य १० गन्तव्यहरु संयुक्त अरब इमिरेट्स, साउदी अरेबिया, कतार, मलेसिया, कुवेत, क्रोएसिया, रोमानिया, जापान, दक्षिण कोरिया, बहराइन रहेको उनले बतए । ‘पछिल्लो समय युरोपमा वैदेशिक रोजगारीमा जाने क्रम बढेसँगै ठगीको मुद्दा पनि बढेको छ”, उनले भने– ‘लागत बढी लाग्नुका साथै जान चाहनेहरुको संख्या धेरै भएकाले ठगी पनि बढिरहेको छ ।’

चालू आवमा जिल्लास्थित आप्रवासी स्रोत केन्द्रमा दर्ता भएका ६५ वटा उजुरीमध्ये नौ वटा किनारा लगाइएको र ५६ वटा प्रक्रियामा रहेका छन् । पीडितलाई रू तीन लाख ८६ हजार ५३१ क्षतिपूर्तिवापत उपलब्ध गराइएको बुढाथोकीले बताए ।

सरकारले घरेलु कामदारका रुपमा महिलालाई जान प्रतिबन्ध लगाए पनि घरेलु कामदारको रुपमा विदेशिने क्रम नघटेको बताइएको छ । चालू आर्थिक वर्षको बैशाखसम्ममा देशभरबाट पुनः श्रम स्वीकृतिसहित छ लाख ८५ हजार ९२४ जना वैदेशिक रोजगारीका लागि विदेशिएको सामी कार्यक्रमले भद्रपुरमा आयोजना गरेको पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा जानकारी दिइयो ।

यस्तै, पछिल्लो तीन वर्षमा झापाबाट वैदेशिक रोजगारीमा गएका १६६ जनाको मृत्यु भएको छ । आर्थिक वर्ष २०७९÷०८० देखि चालू आवको पुस महिनासम्म १६६ जनाको मृत्यु भएको हो । त्यमो झापाका मात्र ४२ जना रहेका छन् । सोही अवधिमा १० जनाको अंगभंग भएको छ ।

चालू आवको पुस महिनासम्म कोशी प्रदेशबाट वैदेशिक रोजगारीमा गएका १५५ जनाको मृत्यु भएको संयोजक शेखर बुढाथोकीले बताए । कोशी प्रदेशबाट सबैभन्दा धेरै वैदेशिक रोजगारीमा जानेमा झापा पर्छ भने मृत्युको दर पनि सबैभन्दा धेरै झापाको छ ।

वैदेशिक रोजगारीको सिलसियामा कोशी प्रदेशबाट विदेशमै ज्यान गुमाउनेमा सुनसरीका ३२, इलामको ११, उदयपुरको आठ, ओखलढुंगाको तीन, खोटाङको पाँच, ताप्लेजुङको एक, तेह्रथुमको छ, धनकुटा र पाँचथरेको पाँच÷पाँच, भोजपुरको दुई, मोरङको २८, संखुवासभाको तीन, सोलुखुम्बुको चार जना रहेका छन् ।

दुई मृतकको परिवारलाई राहत

वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा ज्यान गुमाएका भद्रपुरका दुईजना मृतकको परिवारलाई राहत उपलब्ध गराइएको छ ।

भद्रपुर नगरपालिकामा सञ्चालित सामी कार्यक्रम अन्तरगत रोजगार सेवा केन्द्रको सहकार्यमा ती परिवारलाई २४÷२४ लाख रुपैयाँ राहत उपलब्ध गराइएको छ । त्यस्तै, परिवार स्वास्थ्य उपचार अन्तरगत पाँच परिवारलाई रू ५० हजारका दरले, विदेशमा बिरामी वा अंगभंग भएर फर्किएका दुई जनालाई जनही रू सात÷ सात लाख र २७१ जनाको पुनः श्रम स्वीकृति गरिएको संयोजक बुढाथोकीले बताए ।

त्यस्तै, १६ जनालाई वैदेशिक रोजगार बोर्डबाट प्राप्त छात्रवृत्ति प्रदान, ४० जनालाई मनोपरामर्श, सरोकारवालासँग अन्तरक्रिया, वैदेशिक रोजगारीमा गएका परिवार र विद्यार्थीलाई वित्तीय साक्षरता, वैदेशिक रोजगारीमा जान चाहनेहरुलाई गहन अभिमुखीकरणलगायतका कार्यक्रम गरिएको जनाइएको छ ।

कार्यक्रममा भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले झापामा वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बढ्दै गएको बताए । ‘महिलाहरु अवैधानिक बाटोबाट पनि गएको हामीले पाएका छौंँ’, उनले भने– ‘यस्ता घटनामा उद्धार कार्यमा पनि सहभागी भएका छौँ ।’ वैदेशिक रोजगारीका लागि पछिल्लो समय कम्बोडिया जाने हल्ला बढेको बताउँदै प्रमुख पोरखेलले प्रहरी प्रशासनसँगको सहकार्यमा उक्त हल्ला करिब मत्थर बनाएको उल्लेख गरे । ‘अवैधानिक कार्य नियन्त्रण गर्दै गैरकानूनी काम गर्नेलाई कारबवही गर्नुपर्छ’, उनले भने– ‘यसका लागि सबैको सहयोग जरुरी छ ।’ वैदेशिक रोजगारीमा गएकाहरुले घर–परिवारसँगै मुलुकको आर्थिक अवस्था पनि सुधार्न महत्वपूर्ण योगदान पुर्याउँदै आएकाले वैदेशिक रोजगारको क्षेत्रलाई मर्यादित बनाउन जरुरी रहेको बताउँदै पोखरेलले सामी परियोजनाले मर्यादित र सुरक्षित वैदेशिक रोजगारीको क्षेत्रमा प्रभावकारी कार्य गर्दै आएको उल्लेख गरे ।

नगरप्रमुख पोखरेलकै अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नगरपालिकाको रोजगार शाखा संयोजक टिकाराम पाण्डेले गरेका थिए । कार्यक्रममा नगरपालिकाका उपप्रमुख राधा कार्की, प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलालगायतको उपस्थिति थियो ।

नेपालबाट २०३० जना र बर्सेनि पाँच लाख युवा वैदेशिक रोजगारीका लागि जाने गरेको तथ्यांक छ । आर्थिक वर्ष ०८०÷०८१ मा वैदेशिक रोजगारीबाट १४ खर्ब ४५ अर्ब ३२ करोड रेमिट्यान्स भित्रिएको वैदेशिक रोजगार विभागको तथ्यांक छ । यसले मुलुकको कूल ग्राहस्थ उत्पादनमा २५ प्रतिशत योगदान गर्दछ ।

सामी कार्यक्रम हाल झापाको चार पालिका भद्रपुर, दमक, मेचीनगर र गौरीगञ्जमा सञ्चालित छ भने आगामी आर्थिक वर्षदेखि हल्दिबारी, गौरादह, झापा, कमल, बाह्रदशी र बुद्धशान्तिमा विस्तार हुने भएको छ ।

सामी कार्यक्रमले वैदेशिक रोजगारीमा जाने युवाको सीपमा पहुँच, सूचनामा पहुँच, न्यायमा पहुँच, मनोसामाजिक परामर्श र वित्तीय साक्षरताको क्षेत्रमा काम गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds