दक्षिण अफ्रिकाले अष्ट्रेलियालाई हराउँदै विश्व टेस्ट च्याम्पियनसीपको उपाधि जितेको छ ।
अष्ट्रेलियाले दिएको २८२ रनको लक्ष्य पाँच विकेट बाँकीमा हासिल गर्दै दक्षिण अफ्रिकाले विश्व टेस्ट च्याम्पियनसीपको उपाधि जितेको हो । दक्षिण अफ्रिकाले आईसीसी उपाधिको खडेरी २७ वर्षपछि तोडेको छ ।
यसअघि अष्ट्रेलियाले २०२३ मा र न्युजिल्याण्डले २०२१ मा आईसीसी विश्व टेस्ट च्याम्पियनसीपको उपाधि जितेका थिए । दुबै पटक भारतले फाइनलमा हार बेहोर्नु परेको थियो। दक्षिण अफ्रिकाले २७ वर्षपछि आईसीसी प्रतियोगिता जितेको छ । दक्षिण अफ्रिकाले १९९८ मा च्याम्पियन्स ट्रफी जितेको थियो ।
खेलको दोस्रो इनिङमा दक्षिण अफ्रिकाका लागि एडेन मार्करामले सर्वाधिक १३६ रन बनाए । कप्तान टेम्बा बभुमाले अर्धशतकीय इनिङ खेल्दै ६६ रन बनाए । अस्ट्रेलियाका लागि दक्षिण अफ्रिकाको दोस्रो इनिङमा तीव्र गतिका बलर मिचेल स्टार्कले सर्वाधिक तीन विकेट लिए ।
फाइनलमा टस जितेपछि दक्षिण अफ्रिकाले बलिङ रोज्दै अष्ट्रेलियालाई ब्याटिङको निम्तो दियो । अष्ट्रेलिया पहिलो इनिङमा २१२ रनमा अलआउट भएको थियो भने जवाफमा दक्षिण अफ्रिकी टोली पहिलो इनिङमा केवल १३८ रनमा अलआउट भएको थियो।
दोस्रो इनिङमा अफ्रिकी बलरहरूले पुनरागमन गर्दै अस्ट्रेलियालाई २०७ रनमा सीमित गरे । अस्ट्रेलियाका लागि मिचेल स्टार्कले सबैभन्दा बढी ५८ रन बनाए । यस अवधिमा कागिसो रबाडाले सबैभन्दा बढी चार विकेट लिए ।