आज मध्यराति १२ः४५ बजे विश्वकप फुटबल २०२६ को सुरुआत हुँदेछ । मेक्सिको र दक्षिण अफ्रिकाबीचको खेलमा रेफ्रीले ह्विस्सल बजाएसँगै फुटबलको महाकुम्भ सुरू हुनेछ ।
४८ टोली, १०४ खेल र ३९ दिनको रोमाञ्चक यात्रापछि विश्व फुटबलले नयाँ च्याम्पियन पाउनेछ ।
मेक्सिको सिटीदेखि टोरन्टो र लस एन्जलससम्म फैलिएको यो प्रतियोगिता विश्वकपको नयाँ युगको सुरुआत पनि हो । किनभने विश्वकपको इतिहासमा पहिलोपटक ४८ टोली सहभागी हुँदैछन् । यसअघि ३२ टोली खेल्ने प्रतियोगितामा अब थप १६ राष्ट्रहरुले विश्व फुटबलको सबैभन्दा ठूलो मञ्चमा आफ्नो खेलकौशल देखाउने अवसर पाएका छन् ।
प्रतियोगिता १६ शहरमा आयोजना हुँदैछ, जसमा अमेरिकाका ११, मेक्सिकोका ३ र क्यानडाका २ शहर समावेश छन् । जुलाई १९ मा न्युयोर्क– न्यु जर्सीस्थित मेटलाइफ रंगशालामा हुने फाइनल खेलपछि विश्व फुटबलले नयाँ विश्व च्याम्पियन पाउनेछ । अमेरिकाले पछिल्लोपटक सन् १९९४ मा विश्वकप आयोजना गरेको थियो । सो प्रतियोगितामा २४ टोली सहभागी थिए ।
नेपाल र आयोजक देशहरू बीचको समय भिन्नताका कारण खेलहरू नेपाली समय अनुसार अबेर राति र बिहान सबेरै हुनेछन् । नेपालमा विश्वकपका सबै खेल हिमालयन स्पोर्ट्स टेलिभिजन र डिएगो एपबाट प्रत्यक्ष प्रसारण हुनेछन् । यसका लागि निश्चित शुल्क तिर्नुपर्नेछ ।
विश्वकप २०२६ समूह विभाजन
समूह ए ः मेक्सिको, दक्षिण अफ्रिका, दक्षिण कोरिया, चेक रिपब्लिक
समूह बी ः क्यानाडा, बोस्निया हर्जगोभिना, कतार, स्विट्जरल्याण्ड
समूह सी ः ब्राजिल, मोरक्को, हाइटी, स्कटल्याण्ड
समूह डी ः अमेरिका, पाराग्वे, अष्ट्रेलिया, टर्की
समूह इ ः जर्मनी, कुरासाओ, आइभरी कोस्ट, इक्वेडर
समूह एफ ः नेदरल्याण्ड्स, जापान, स्वीडेन, ट्युनिसिया
समूह जी ः बेल्जियम, इजिप्ट, इरान, न्युजिल्याण्ड
समूह एच ः स्पेन, केप भर्डे, साउदी अरब, उरुग्वे
समूह आई ः फ्रान्स, सेनेगल, इराक, नर्वे
समूह जे ः अर्जेन्टिना, अल्जेरिया, अस्ट्रिया, जोर्डन
समूह के ः पोर्चुगल, कंगो डीआर, उज्बेकिस्तान, कोलम्बिया
समूह एल ः इंग्ल्याण्ड, क्रोएसिया, घाना, पनामा
उद्घाटन समारोह
यसपटकको उद्घाटन समारोह विशेष हुनेछ पहिलोपटक उद्घाटन कार्यक्रम एउटै शहरमा सीमित रहने छैन । मेक्सिको सिटी, टोरन्टो र लस एन्जलसमा छुट्टाछुट्टै समारोह आयोजना गरिनेछ। तीनवटै आयोजक राष्ट्रले आफ्नो संस्कृति, इतिहास र पहिचानलाई विश्वसामू प्रस्तुत गर्नेछन् ।
मेक्सिको सिटीमा हुने मुख्य उद्घाटन समारोहमा शाकिरा, बर्ना ब्वाय, जे बाल्भिन, टाइला लगायतका अन्तर्राष्ट्रिय कलाकारहरुले प्रस्तुति दिनेछन् । त्यसपछि ऐतिहासिक एस्टाडियो एज्टेकामा मेक्सिको र दक्षिण अफ्रिकाबीचको उद्घाटन खेल हुनेछ ।
मेसी र रोनाल्डोका लागि अन्तिम विश्वकप
लियोनल मेसी अर्जेन्टिनालाई लगातार दोस्रो विश्वकप उपाधि दिलाउने अभियानमा छन्। प्रतियोगिताका दौरान ३९ वर्ष पुग्ने मेसी सम्भवतः आफ्नो अन्तिम विश्वकप खेल्दैछन्। सन् १९६२ यता कुनै पनि राष्ट्रले लगातार दुई विश्वकप जित्न सकेको छैन। त्यसैले अर्जेन्टिनासामू इतिहास रच्ने अवसर पनि छ ।
४१ वर्षीय क्रिस्टियानो रोनाल्डो पनि अझै पोर्चुगलको टोलीमा छन्। फुटबल करिअरमा विश्वकप उपाधि उनका लागि ‘मिसिङ पज्जल’ हो। बलियो टोली भएकाले पोर्चुगललाई यसपालि उपाधिको प्रमुख दाबेदारका रुपमा हेरिएको छ।
फ्रान्सका कप्तान किलियन एमबाप्पे अर्का प्रमुख आकर्षण हुन् । क्लब फुटबलमा यस सिजन कठिन समय बिताए पनि विश्वकपमा उनी फेरि चम्किने अपेक्षा फ्रान्स समर्थकहरुको छ ।
त्यस्तै इङ्ल्यान्डका ह्यारी केन करिअरकै उत्कृष्ट लयमा छन् । नयाँ प्रशिक्षक थोमस टुचेलको नेतृत्वमा इङ्ल्यान्ड ६० वर्ष लामो उपाधि खडेरी अन्त्य गर्ने लक्ष्यमा छ ।
यसैगरी स्पेनका युवा स्टार लामिन यामाल, ब्राजिलका राफिन्हा, अनुभवी नेयमार तथा बेल्जियम र पोर्चुगलका नयाँ पुस्ताका प्रतिभाहरुले प्रतियोगितालाई थप रोचक बनाउने अनुमान गरिएको छ ।
डार्क हर्सहरुको खतरा
विश्वकप केवल ठूला राष्ट्रहरुको कथा मात्र होइन। हरेक संस्करणमा केही नपत्याउँदो टोलीले अप्रत्याशित नतिजा ल्याइरहेका हुन्छन्।
यसपटक स्कटल्यान्ड, नर्वे, मोरक्को, आइभोरी कोस्ट, इक्वेडर र सेनेगलजस्ता टोलीहरुलाई सम्भावित ‘डार्क हर्स’का रुपमा हेरिएको छ।
एर्लिङ हालान्ड र मार्टिन ओडेगार्डको नेतृत्वमा रहेको नर्वे, स्कट म्याकटोमिने र जोन म्याकगिनको स्कटल्यान्ड तथा मोरक्कोले ठूला टोलीहरुलाई चुनौती दिन सक्ने क्षमता राख्छन् । त्यस्तै उज्वेकिस्तान, हाइटी, कुरासाओ र केप भर्डेजस्ता टोलीहरुले पनि विश्व फुटबलमा नयाँ कथा लेख्ने सपना बोकेर मैदान ओर्लिनेछन् ।
विश्वकप २०२६ को नेपाली समयअनुसारको खेल तालिका

