झापा । झापाको भद्रपुर–१ सोमबारेमा सञ्चालित नृत्यालय, स्कूल अफ डान्सले आयोजना गरेको ‘शुद्ध नृत्य युद्ध’ ग्राण्ड फिनाले भोलि शनिबार हुने भएको छ ।
खासगरी, विद्यार्थीहरुमा निहीत नृत्य प्रतिभा प्रस्फुटित गराउने गर्ने उद्देश्यले नृत्यालयले सो नृत्य प्रतियोगिता आयोजना गरेको हो ।
भद्रपुर– १ स्थित सोमबारेस्थित ग्यालेक्सी पार्टी प्यालेसमा सम्पन्न हुने ग्राण्ड फिनालेको सबै तयारी पूरा भएको नृत्यालयका संस्थापक सञ्चालक सक्षम तामाङले जानकारी दिएका छन् ।
प्रतियोगिताको छनोट चरणमा जुनियर तहदेखि एसइईसम्मका विद्यार्थीहरूको उल्लेख्य सहभागिता थियो । प्रतियोगिताका लागि जेठ ८ गते अडिसन सुरु गरिएको थियो ।
बनियानी, भद्रपुर, चन्द्रगढी, गोलधाप तथा बिर्तामोडमा सम्पन्न अडिसनमा ७० जना प्रतिस्पर्धी छनोट भएका थिए । दोस्रो राउन्डमा तीमध्ये ३६ जना छनोट भई जेठ १६ गते सम्पन्न सेमिफाइनल राउण्डमा टप १० फाइनलिस्ट छनोट भएको तामाङले बताए ।
ग्राण्ड फिनालेमा ओमालिसा मेचे, सालिन मगर, खुसाङ तामाङ, सन्दिपा नेम्बाङ, सरस्ता राउत, दृशा रिजाल, अर्पण घिमिरे, सेम हाङ्मा लिम्बू, सुजाता भट्टराई र रुस्ना कन्दङ्वाबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । विजेताहरुले क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँ नगदसहित ट्रफी, गिफ्ट हेम्परलगायत छात्रवृत्ति प्राप्त गर्ने आयोजकले जनाएको छ ।
सञ्चालक तामाङले ‘राम्रोलाई भन्दा हाम्रोलाई जिताउने’ प्रवृत्तिलाई अन्त्य गर्दै योग्य प्रतिभालाई पुरस्कृत गर्ने उद्देश्यअनुरुप निर्णायकहरु जिल्लाबाहिरबाट ल्याइने बताए ।
प्रतियोगिताको मूल्याङ्कन निष्पक्ष र पारदर्शी बनाउन झापा जिल्ला बाहिरबाट चार जना अनुभवी निर्णायकलाई निमन्त्रणा गरिएको डाइरेक्टर सुस्मिता राईले बताइन् ।
प्रतियोगितामा पहिलो पुरस्कारको राशि र ट्रफी कार्कीज केक चारआलीले प्रदान गर्नेछ ।
प्रतियोगिताका सम्बन्धमा आज आयोजित पत्रकार सम्मेलनमा सहभागी कार्कीज केकका सञ्चालक विकास कार्की र दोस्रो पुरस्कार प्रदान गर्ने ग्रीनफिल्ड इङ्लिस स्कूलका प्रिन्सिपल सन्देश राईले यस्ता प्रकारका प्रतियोगिताले विद्यार्थीमा रहेको प्रतिभा प्रस्फुटन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए । उनीहरूले नृत्य, सङ्गीत तथा अन्य सिर्जनात्मक क्षेत्रमा युवापुस्तालाई प्रोत्साहन गर्न यस्ता कार्यक्रम निरन्तर सञ्चालन हुनुपर्नेमा जोड दिएका छन् ।
ग्राण्ड फिनाले भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न हुने सञ्१चालक तामाङले जानकारी दिए ।
