भद्रपुरको १७ औं नगर सभा ः पत्रकार र खेलाडी पुरस्कृत

झापा । झापाको सदरमुकाम रहेको भद्रपुर नगरपालिकाले बुधबार १७ औँ नगरसभा सम्पन्न गरेको छ ।
यस अवसरमा नगरपालिकाले दुईजना पत्रकार र विभिन्न खेल विधामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरूलाई सम्मान गरेको छ ।

नगरपालिकाले यस वर्षको नगर विकास पत्रकारिता पुरस्कारबाट पत्रकार हुतराज नेपाल (उत्तम) र प्रोत्साहन पत्रकारिता पुरस्कारबाट डिल्लीरमण नेपाललाई सम्मान गरेको छ । नेपाल समाचारपत्र र ब्लाष्ट दैनिकमा आबद्ध पत्रकार उत्तमलाई नगद ३१ हजार तथा वर्तमान साहित्यिक पत्रिकामा आबद्ध पत्रकार डिल्लीलाई नगद १५ हजारसहित दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको हो । उनीहरूलाई नगर प्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की, प्रमुख प्रशासकीय अधिकृत गोरखनाथ मिश्रलगायतले सम्मानपत्र प्रदान गरेका थिए ।
त्यस्तै, भलिबल खेलाडी तथा कोशी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता २०८१ मा स्वर्ण पदक ल्याउने खेलाडीहरू प्रमोद पाण्डे, भरत यादव, अभिषेक कामती, रेशल साह, आलोक सिंह, निखिल कामती, आदित्य कामती, आयुष सिटौला, आकाश ठटाल, नितिन मण्डल र रिदम दर्जीलाई कदरपत्रसहित जनही ५ हजार एक सयले पुरस्कृत गरिएको थियो । त्यसैगरी भद्रपुरमा आठौँ नगरस्तरीय तथा १६ औं राष्ट्रपति रनिङ शील्ड प्रतियोगितामा सम्पन्न गराउन सहयोगी भूमिका निर्वाह गर्नेहरूलाई पनि कदर पत्र प्रदान गरिएको थियो ।

सभामा विषयगत समितिहरूको अर्धवार्षिक समीक्षा गरिएको थियो भने विनियोजन विधेयक २०८२ संशोधन स्वीकृत र अनुमोदन गरिउको थियो । यस्तै, जेनजी आन्दोलनको क्रममा भएक क्षतिहरुको बारेमा जानकारी गराइएको थियो ।
सहभागी जनप्रतिनिधिहरूले सडक, सरसफाइ, विद्युत, खानेपानी, बिजुली, पूल–कल्भर्टलगायतका विषयमा राखेको जिज्ञासामा नगरप्रमुख पोखरेलले जवाफ दिएका थिए । सभाको सञ्चालन कर्मचारी योगेन्द्र पौडेलले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *