झापा । झापाको भद्रपुर नगरपालिकाले आन्तरिक रोजगारी सिर्जनालाई प्रभावकारी बनाउने उद्देश्यले भद्रपुरका उद्योगी–व्यवसायीहरूसँग अन्तरक्रिया गरेको छ । राष्ट्रिय रोजगार प्रवर्दन कार्यक्रमअन्तर्गत भद्रपुर नगरपालिकामा स्थापित रोजगार संवाद मञ्चले आयोजना गरेको कार्यक्रममा भद्रपुरका स्थापित उद्योगी–व्यवसायीहरुको सहभागिता थियो ।
नगरप्रमुख गणेश पोखरेलको अध्यक्षतामा नगरपालिकाका रोजगार संयोजक दिपक पाण्डेले सञ्चालन गरेको कार्यक्रममा उद्योगी–व्यवसायीहरुले उद्योग–व्यवसाय क्षेत्रका समस्याहरु राखेका थिए भने नयाँ रोजगारी सिर्जनाका लागि गर्न सकिने कार्ययोजनाका बारे चर्चा गरेका थिए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका पूर्व अध्यक्ष टिकाराज ढकाल, झापा उद्योग संघका अध्यक्ष यमबहादुर श्रेष्ठ, नेपाल चिया उत्पादक संघका केन्द्रीय अध्यक्ष आदित्य पराजुली, अग्रज चिया उद्यमी जेपी शर्मा, इँटा उद्योगी देवेन्द्र गौतमलगायतले आन्तरिक रोजगारी सिर्जना गर्न विषयगत क्षेत्रमा छुट्टछुट्टै प्राविधिक तालिमको व्यवस्था गर्न सकिने र यसबाट सम्बन्धित उद्योग क्षेत्रका लागि दक्ष्
जनशक्ति आपूर्ति गर्न सकिने बताए ।
चिया उत्पादक संघका अध्यक्ष पराजुलीले पछिल्लो समय चिया निर्यातमा समस्या देखिए पनि समस्या समाधानमा कुनै पनि निकाय गम्भीर नदेखिएको बताउँदै चिया निकासी अवरोध हुँदा भद्रपुरको अर्थतन्त्रमा ठूलो प्रभाव पर्नेतर्फ ध्यानाकर्षण गराएका थिए ।
कार्यक्रममा नगर प्रमुख पोखरेलले स्थानीयस्तरमै रोजगारीका अवसर सिर्जना गरी युवालाई आफ्नै ठाउँमा आत्मनिर्भर बनाउन नगरपालिकाले विभिन्न कार्यक्रम गर्दै आएको बताउँदै रोजगार सेवा केन्द्रमार्फत पनि प्यासहरु भइरहेको जानकारी दिए ।
कार्यक्रममा नगरभित्र रोजगारीका अवसर विस्तार, स्थानीय युवालाई सीप तथा रोजगारसँग जोड्ने उपाय, उत्पादन र उद्यमशीलताको प्रवर्द्धन लगायत विषयमा व्यापक छलफल गरिएको थियो । सहभागी उद्योगी तथा व्यवसायीहरूले स्थानीय तह र निजी क्षेत्रबीच सहकार्य बढाउँदै आर्थिक गतिविधि विस्तार गर्नुपर्ने धारणा व्यक्त गरेका थिए ।
