झापाका श्रीकृष्ण प्रणामी मन्दिरहरुमा श्रीमद् वीतक कथा प्रारम्भ

झापा । झापाका विभिन्न श्रीकृष्ण प्रणामी मन्दिरहरूमा श्रीमद् वीतक कथा विधिवत रूपमा सुरु भएको छ ।

श्रीकृष्ण प्रणामी धर्मावलम्बीहरूको आस्था र परम्पराअनुसार श्रावण शुक्ल तृतीयादेखि सुरु हुने यो धार्मिक अनुष्ठान विशेष श्रद्धा र भक्तिभावका साथ हिजोदेखि सुरु भएको हो ।

धार्मिक परम्पराअनुसार श्रद्धालुहरूले श्रावण शुक्ल तृतीयाको दिन अल्पाहार गर्ने, चतुर्थीका दिन निराहार व्रत बस्ने तथा पञ्चमीको बिहान मन्दिरमा सेवा–पूजा गरी श्रीमद् वीतकमा फूल अर्पण गरेपछि मात्र भोजन ग्रहण गर्ने प्रचलन छ ।

झापामा श्रीकृष्ण प्रणामी मन्दिर बिर्तामोड–२ चारपाने, सद्गुरु सदन बिर्तामोड, श्री प्राणनाथ सदन बिर्तामोड, श्रीकृष्ण प्रणामी मन्दिर चन्द्रगढी–दुवागढी, श्रीकृष्ण प्रणामी मन्दिर बत्तीसविघा, श्रीकृष्ण प्रणामी मन्दिर सुरुङ्गा, श्रीकृष्ण प्रणामी मन्दिर शनिश्चरे, बुधबारे, भद्रपरलगायत जिल्लाभरिका श्रीकृष्ण प्रणामी मन्दिरमा कथा प्रारम्भ भएको सुन्दरसाथ अनिल ढुंगानाले जानकारी दिए ।

विशेष गरी वीतक कथाको माध्यमबाट श्रीकृष्ण प्रणामी धर्मको इतिहासको चर्चा गरिनुका साथै प्रेम, स्नेह बाँड्ने गरिन्छ । कथा अवधिभर दैनिक रूपमा भजन–कीर्तन, सत्सङ, धार्मिक प्रवचन तथा सामूहिक आरतीका कार्यक्रम सञ्चालन हुने ढुंगानाका भनाइ छ ।

यो धार्मिक अनुष्ठान श्रीकृष्ण प्राकट्य उत्सवका दिन विशेष पूजा, आराधना र धार्मिक कार्यक्रमसहित विधिवत रूपमा समापन गरिने परम्परा छ ।

श्रीमद् वीतक कथाले भगवान् श्रीकृष्ण तथा निजानन्द सम्प्रदायका आध्यात्मिक सन्देशलाई जनमानसमा प्रवाह गर्दै सत्य, प्रेम, सद्भाव र मानव एकताको भावनालाई सुदृढ बनाउने विश्वास धर्मावलम्बीहरूको रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *