झापा । पछिल्लो समय मुटुसम्बन्धी बिरामी बढ्दै गएको सन्दर्भमा यसको न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रमको आवश्यकतालाई मध्यनजर गर्दै झापाको विर्तामोडमा साउन अन्तिम साता सीपीआरसम्बन्धी तालिम गरिने भएको छ ।
नेपाल हृदयरोग निवारण प्रतिष्ठान झापाको आयोजनामा साउन २९ गते सीपीआरसम्बन्धी एकदिने तालिम गर्न लागिएको हो । विर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालको अडिटोरियममा आयोजना गरिने तालिममा बी एण्ड सी मेडिकल कलेज तथा टिचिङ हस्पिटलको कार्डियो विभागले प्राविधिक सहयोग गर्ने बताइएको छ ।
कार्यक्रमलाई रोटरी क्लब अफ बिर्तामोड मिडटाउन, रोटरी क्लब अफ सुरुङ्गा, रोटर्याक्ट क्लब अफ बिर्तामोड, रोटर्याक्ट क्लब अफ बिर्तामोड मिडटाउन तथा बिर्तामोड रन क्लबले सहयोग गर्नेछन् ।
सीपीआर भनेको के हो ?
सीपीआर भनेको ुहृदय फोक्सो पुनरुत्थानु गर्नु हो ।
साधारण भाषामा मुटु अचानक बन्द भयो वा सास फेर्न छोड्यो भने, रगत र अक्सिजनलाई मस्तिष्क र शरीरका महत्वपूर्ण अंगमा पुर्याउन बाहिरबाट गरिने आपतकालीन उपाय हो ।
यो कहिले गरिन्छ ?
— कसैको मुटुको धड्कन अचानक रोकियो भने
— डुबेर, करेन्ट लागेर, वा सास रोकिएर बेहोस भयो भने
– एम्बुलेन्स नआउन्जेलसम्म
सीपीआरमा के गरिन्छ ?
छातीको बीचमा दुवै हातले छिटो र गहिरो गरी थिच्ने । यसले मुटुको काम गर्छ रगत पम्प गर्छ । एक मिनेटमा १०० देखि १२० पटक थिच्ने । बिरामीको मुखमा मुख राखेर २ पटक सास फुक्ने । यसले फोक्सोमा अक्सिजन पुर्याउँछ ।
