भद्रपुरमा २५ लाख लगानीमा आधुनिक ‘ट्रिम एण्ड ट्रेन्च’ युनिसेक्स सैलुन सञ्चालन

झापा । झापाको भद्रपुर–८ स्थित सगरमाथा चोकमा आधुनिक सुविधासम्पन्न ‘ट्रिम एण्ड ट्रेन्च युनिसेक्स हेयर सैलुन’ सञ्चालनमा आएको छ। भद्रपुर–९ निवासी युवा व्यवसायी श्याम बुढाथोकीले करिब २५ लाख रुपैयाँ लगानीमा सैलुन सञ्चालनमा ल्याएका हुन् ।

सैलुनको आज बिहान शुभमुहूर्तमा झापा उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष राजकुमार राई, पूर्व प्रहरी संगठन भद्रपुरका अध्यक्ष अम्बिका पोखरेल तथा सञ्चालक बुढाथोकीका पिता लगायतले संयुक्त रूपमा रिबन काटेर उद्घाटन गरे । सैलुन सगरमाथाचोक दक्षिणपट्टि हाम्रो मार्ट रहेको भवनको माथिल्लो तलामा छ ।

सैलुनमा सेवाग्राहीको चाहनाअनुसार कपाल काट्ने, कपाल मिलाउने, फेसियललगायतका विभिन्न सौन्दर्य तथा हेयर केयर सेवा उपलब्ध हुने सञ्चालक बुढाथोकीले बताए । पुरुष तथा महिला दुवैका लागि सेवा उपलब्ध हुने सैलुनमा करिब १० जना तालिमप्राप्त युवा जनशक्तिले रोजगारी पाएको उनले जानकारी दिए ।

सुविधाजनक तथा आधुनिक ढंगले कपाल काट्न र सौन्दर्यसम्बन्धी सेवा लिन चाहनेहरूको संख्या बढ्दै गएकाले सबै आवश्यक सुविधासहित सैलुन सञ्चालनमा ल्याइएको बुढाथोकीको भनाइ छ ।

पछिल्लो समय देशमा उद्योग–व्यवसाय क्षेत्रमा मन्दी देखिएको अवस्थामा युवा व्यवसायी बुढाथोकीले ठूलो आँट र लगानीका साथ नयाँ व्यवसाय सुरु गर्नु सकारात्मक भएको झापा उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष राजकुमार राईले बताए । उनले स्थानीयस्तरमा रोजगारी सिर्जना गर्दै सञ्चालनमा आएको यस व्यवसायलाई सबैले प्रोत्साहन गर्नुपर्नेमा जोड दिए ।

युवाहरू रोजगारीका लागि विदेशिने क्रम बढिरहेका बेला स्वदेशमै लगानी गरी व्यवसाय सञ्चालन गर्नु उदाहरणीय भएको भन्दै उनले बुढाथोकीको व्यवसायिक सफलताको शुभकामना समेत व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *