घरमा कम्तीमा एउटा ज्वरो नाप्ने थर्मामिटर राख्न स्वास्थ्यकर्मीको सुझाव

झापा । घरमा ज्वरो नाप्ने थर्मामिटर नहुँदा बालबालिकामा देखिने स्वास्थ्य जोखिम समयमै पहिचान गर्न कठिन हुने भन्दै स्वास्थ्यकर्मीले प्रत्येक घरमा थर्मामिटर राख्न सुझाव दिएका छन् ।

झापाको भद्रपुर–९ स्थित चन्द्रगढी स्वास्थ्य चौकीका एक स्वास्थ्यकर्मीले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको घटनालाई उदाहरणका रूपमा प्रस्तुत गर्दै बालबालिकालाई उच्च ज्वरो आउँदा अभिभावकले विशेष सावधानी अपनाउनुपर्ने बताएका हुन् ।

स्वास्थ्यचौकीमा हालै १५ महिनाको एक शिशुलाई १०४.७ डिग्री फरेनहाइट ज्वरो आएपछि अभिभावकले ल्याएका थिए । थर्मामिटरमा समस्या भएको हुनसक्ने आशंकामा पुनः तापक्रम जाँच गर्दा पनि १०४.७ डिग्री फरेनहाइट नै देखिएको स्वास्थ्यकर्मीले बताएका छन् ।

स्वास्थ्य परीक्षणका क्रममा अचानक बच्चाको शरीर काम्न थालेको, आँखा पल्टिएको र मुखबाट फिँज निस्किएको थियो । त्यसपछि स्वास्थ्यकर्मीले तत्काल प्राथमिक उपचार सुरु गरेका थिए । बच्चालाई चिसो पानीपट्टी लगाउनुका साथै चिकित्सकीय सल्लाहअनुसार पारासिटामोल दिइएको थियो । करिब आधा घण्टापछि बच्चा सामान्य अवस्थामा फर्किएर खेल्न थालेको बताइएको छ। थप उपचार तथा स्वास्थ्य परीक्षणका लागि भने बच्चालाई प्रादेशिक अस्पताल भद्रपुर पठाइएको सो स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मी लालबहादुर पन्तले जानकारी दिएका छन्।

उक्त घटनालाई उदाहरणका रूपमा प्रस्तुत गर्दै पन्तले बालबालिकालाई ज्वरो आयो कि आएन ? भनेर अनुमानका भरमा बस्नुभन्दा थर्मामिटरबाट तापक्रम मापन गर्न आग्रह गरेका छन्। विशेषगरी, अत्यधिक ज्वरो आएमा बच्चाको अवस्थालाई बेवास्ता नगरी तत्काल स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मीको सम्पर्कमा लैजानुपर्ने उनको सुझाव छ।

‘अहिले सबै मानिसका घरमा महँगा मोबाइल फोनलगायत विभिन्न सामग्री हुने गरे पनि सामान्य थर्मामिटर भने नहुने अवस्था छ’, स्वास्थ्यकर्मी पन्तले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्– ‘त्यसैले हरेक घरमा एउटा थर्मामिटर राख्ने र बालबालिकालाई ज्वरो आएमा नियमित रूपमा तापक्रम जाँच गर्ने बानी बसाल्न आवश्यक छ, तापक्रमको अवस्था समयमै थाहा पाएर स्वास्थ्यकर्मीको सल्लाह लिन सके बालबालिकामा देखिन सक्ने जटिलता न्यूनीकरण गर्न सहयोग पुग्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *