भद्रपुर झापा गोल्ड कप दोस्रो संस्करणको तयारी पूरा

झापा । मोफसलकै प्रतिष्ठित र लोकप्रिय फुटबल प्रतियोगिता भद्रपुर झापा गोल्डकप गम्भीर राई स्मृति संस्करण अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । आयोजक भद्रपुर झापा गोल्डकपले आज खेल मैदान मेची रंगशालामा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारी पूरा भएको जनाएको हो ।

यही फागुन ७ गतेदेखि हुने गोल्डकपलाई उत्कृष्ट, भव्य र परिष्कृत बनाउन शानदार मैदान बनाइएको छ । करिब २० हजार दर्शक बस्न मिल्नेगरी स्थायी पक्की तथा बाँसको अस्थायी प्यारापिट निर्माण गरिएको छ । प्रतियागिताको तयारीस्वरुप स्वागत गेटहरु निर्माण गरिएको छ ।

यो संस्करणको प्रतियोगितामा घरेलु टोली भद्रपुर ब्लेजर्ससहित ‘ए’ डिभिजन क्लब चर्च ब्वाइज युनाइटेड, मछिन्द्र फुटबल क्लब, नेपाल पुलिस क्लब, न्यु रोड टिम, सशस्त्र प्रहरीको एपीएफ एफसी र झापा ११ एफसी सहभागी हुनेछन् भने गोल्डकपमा तीन विदेशी टिम दार्जीलिङ पुलिस एफसी भारत, ट्रान्सपोर्ट युनाइटेड एफसी भूटान, काउर्न बाजार प्रगति संघ बंगलादेश सहभागी हुनेछन् ।

फागुन १६ गते हुने गोल्डकपको फाइनलको विजेताले नगद १३ लाख, आकर्षक ट्रफी र मेडल र उपविजेताले नगद ७ लाख, ट्रफी र मेडल प्राप्त गर्नेछ । प्रथम पुरस्कार आफना पिता लक्ष्मण ढकाल र माता रामरेखा ढकालको स्मृतिमा छोराहरु चण्डीराज ढकाल, नवराज ढकाल, टिकाराज ढकाल र हेमराज ढकालले उपलब्ध गराएका छन् भने दोस्रो पुरस्कार अन्तर्राष्ट्रिय झापाली समाजले प्रदान गर्नेछ । गोल्डकप सम्पन्न गर्न एक करोड ७८ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

प्रतियोगिताभरिको सर्वोत्कृष्ट खेलाडी प्लेयर अफ द टुर्नामेन्टले नगद एक लाख पाँच हजार रुपैयाँ पाउनेछ । त्यस्तै, उत्कृष्ट गोलकिपर, उच्च गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकले नगद २५ हजार पाउनेछ । प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद २१ हजार रुपैयाँ दिइनेछ ।

प्रतियोगिताको उद्घाटन पूर्वउपप्रधान तथा गृहमन्त्री, राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौलाले गर्ने गोल्डकपका अध्यक्ष दिपेश ढकालले जानकारी दिए ।

प्रतियोगितामा क्वार्टर फाइनलसम्मको टिकट दर २०० रुपैयाँ, सेमिफाइनलमा ३०० रुपैयाँ र फाइनलमा बाँसको प्यारापिटका लागि ३०० रुपैयाँ र पक्की प्यारापिटका लागि ५०० रुपैयाँ कायम गरिएको महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिए । टिकट किनेर खेल हेर्ने दर्शकका लागि आकर्षक उपहारको व्यवस्था गरिएको छ । टिकट काटेर खेल हेर्ने दर्शकमध्ये प्रत्येक दिन एकजना दर्शकले महेन्द्र रत्न स्टोर विर्तामोडले उपलब्ध गराउने एउटा एलईडी टिभी, दुईजना दर्शकले चाँदीका सिक्का र एकजना दर्शकलाई दुईजनाको लागि एयरपोर्ट होटलमा डिनर उपहार राखिएको छ । फाइनलमा एकजना भाग्यशाली दर्शकलाई टीभीएस मोटरसाइकल र एकजना दर्शकलाई सुनको सिक्री उपहार प्रदान गरिने बताइएको छ ।

प्रतियोगितामा भद्रपुर नगरपालिका संरक्षक र झापा जिल्ला खेलकुद विकास समिति समन्वयकर्ताको रुपमा रहेका छन् भने सौर्य एयर तथा ओम साई पाथिभरा हस्पिटल भद्रपुर मुख्य प्रायोजकको रुपमा रहेको गोल्डकपका अध्यक्ष दिपेश ढकालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *