भद्रपुरमा आज कीचकबध मेला ः झापाका तीन स्थानीय तहमा विदा

झापाको सदरमुकाम भद्रपुरमा आज महाभारतकालीन किंवदन्तीसँग जोडिएको ऐतिहासिक कीचकबध धार्मिक मेला लाग्दैछ । प्रत्येक वर्ष माघे शुल्क पूर्णिमा अर्थात स्वस्थानी व्रतको अन्तिम दिन कीचकबध मेला लाग्दै आएको छ ।

भद्रपुर नगरपालिका २ र ३ नं वडामा पर्ने कीचकबध धार्मिक स्थलमा आज बिहानैदेखि भक्तजनहरूको आगमन हुन थालेको कीचकबध धार्मिक तथा पर्यटकीय स्थल संरक्षण समितिका सचिव बमबहादुर कोइरालाले जानकारी दिए । भक्तजनको सहजताका लागि सबै तयारी गरिएको उहाँले बताए ।

कीचकबधको धार्मिक पोखरीमा माघे शुल्क पूर्णिमा दिन स्वतःस्फूर्त पानी आउने गरेकोले सो पोखरीमा नुहाउँदा मनोकामना पूरा हुने धार्मिक विश्वास छ । पोखरीमा पैसा फाल्ने, पान र सुपारी राखेर पूजा–अर्चना गरी परेवा उडाउने धार्मिक प्रचलन छ । भक्तजनहरूले महाभारतकालका भीमसेनले कीचकलाई वध गरेको मूर्तिमा समेत पूजाआर्चना गर्छन् ।

कीचकबध मेलामा झापासहित पूर्वका विभिन्न जिल्लासँगै छिमेकी राष्ट्र भारतबाट समेत उल्लेख्य संख्यामा भक्तजनहरू आउने गरेका छन् ।
महाभारतकालीन किंवदन्ती अनुसार विराट राजाका सालो कीचकले पाण्डव रानी द्रौपदीको यौवन र रूपमाथि कुदृष्टि राख्दा कीचकलाई भीमसेनले मुड्क्याएर मारेको स्थानको रुपमा कीचकवधस्थल प्रख्यात छ ।

आज कीचकबध मेलाको अवसरमा झापाका भद्रपुर नगरपालिका, हल्दिबारी गाउँपालिका र कचनकवल गाउँपालिकाले स्थानीय सार्वजनिक विदा दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *