भद्रपुरको नगरसभामा दुई पत्रकार र खेलाडीहरु पुरस्कृत

झापा । झाापको सदरमुकाम रहेको भद्रपुर नगरपालिकाले १५ औं नगरसभाको अवसर पारेर दुई जना पत्रकारसहित खेलाडीहरुलाई पुरस्कृत गरेको छ ।

शनिवारबाट शुरू भएको नगरसभाको समापनको अवसर पारेर विकास पत्रकारिता पुरस्कारबाट नगद ३१ हजारसहित द्रोण अधिकारी र प्रोत्साहन पत्रकारिता पुरस्कारबाट सन्तोष शर्मालाई १५ हजार नगदसहित पुरस्कृत गरिएको हो ।

नगर प्रमुख गणेश पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भद्रपुर नगर क्षेत्रमा रहेर खेलको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक प्राप्त क्रिकेटका विपिनकुमार महतो, हक्कीका सुदिपकुमार चौधरी, दिपक खतिवडा, भारोत्तोलनकी सोनीदेवी दास, एथलेटिक्सकी सविना राजवंशीलाई जनही दश हजार नगदसहित पुरस्कृत गरिएको थियो ।

यस्तै नगरपालिका स्तरीय नकाउट फुटवल प्रतियोगितामा विजेता भद्रपुर नगरका खेलाडीलाई नगदसहित प्रमाणपत्रले पुरस्कृत गरिएको थियो ।

शिक्षा शाखाका योगेन्द्र पौडेलले सञ्चालन गरेको कार्यक्रममा नगर उपप्रमुख राधा कार्की, झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, प्रहरी प्रमुख मिलन केसी, प्रेस क्लब भद्रपुरका अध्यक्ष राजबाबु शंकरलगायतले मन्तव्य राख्दै नगरको उन्नतिमा सवै क्षेत्रको उल्लेख्य भूमिका रहने बताएका थिए ।

नगरसभामा चालु आर्थिक वर्ष २०८१÷०८२ को अर्ध वार्षिक प्रगति कार्ययोजनाहरूको समीक्षा र संशोधित बजेट तर्जुमालगायतका विषयमा छलफल गरेर पारित नगरप्रमुख गणेश पोखरेलले जानकारी दिए ।

नगरसभामा उपप्रमुख राधा कार्की, प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला, वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, वडा सदस्य तथा कर्मचारीहरूको सहभागिता थियो ।

सभालाई समापन गर्दै नगर प्रमुख पोखरेलले नगरको चौतर्फी विकासका लागि नीतिगत व्यवस्थामार्फत कार्यविधि बनाएर काम गरिरहेको बताए । पोखरेलले अलपत्र परेको गिरिजाप्रसाद कोइराला स्मृति सभागृह निर्माणका लागि यथाशिघ्र वातावरण बनाउन नगरसभाले अनुमोदन गर्दै संघीय सरकारसँग बाधा फुकुवाको माग गरेको पनि बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *