रोहित काफ्ले—
नेपालकै सबैभन्दा होचो भूभाग रहेको झापाको सदूर दक्षिणी कचनकवल गाउँपालिकाले आर्थिक वर्ष २०८०÷०८१ का लागि ६३ करोड एक लाख १० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
आइतबार सम्पन्न दोस्रो गाउँसभाको तेस्रो अधिवेशनमा उपाध्यक्ष नवराज भट्टराईले उक्त आकारको बजेट प्रस्तुत गरेका हुन् । प्रस्तावित बजेटमध्ये चालु तथा प्रशासनिक खर्चतर्फ ४२ करोड ८९ लाख १० हजार र पूँजीगत खर्चतर्फ २० करोड १२ लाख रुपैयाँ विनियोजन गरिएको छ । उक्त बजेट सीमामा सामाजिक सुरक्षा भत्ता, १५ सैय्याको अस्पताल र गरीबसँग विश्वेश्वर कार्यक्रमवापत प्राप्त हुने अनुमानित बजेट समावेश नगरिएको उपाध्यक्ष भट्टराईले जानकारी दिए ।
गाउँपालिकाले ‘स्वास्थ्य सेवाको विस्तार, पालिका जिम्मेवार’ अभियानका साथ स्वास्थ्य क्षेत्रको समग्र विकासका लागि पाँच करोड ६२ लाख १० हजार, ‘शैक्षिक क्षेत्रमा पहुँचको विस्तार, कचनकवलवासीको अधिकार’ अभियानका साथ शिक्षा क्षेत्रको समग्र विकासका लागि २३ करोड ६३ लाख ९४ हजार, ‘कृषक र उद्यमी, कचनकवलका सारथी’अभियानका साथ कृषि तथा पशु विकास क्षेत्रमा दुई करोड २९ लाख ९० हजार, रोजगारी तथा सीप विकासमा एक करोड ३० लाख, पूर्वाधार एवम् पर्यटन विकासमा २२ करोड २२ लाख ५० हजार विनियोजन गरेको छ । गाउँपालिकाले ‘एक वार्ड, एक पक्की सडक’ कार्यक्रमअन्तर्गत प्रत्येक वार्डमा १ किमी सडक कालोपत्रे योजना अघि बढाउने उपाध्यक्ष भट्टराईले बताए ।
यसैगरी, महिला तथा बालबालिकाको क्षेत्रमा २३ लाख ५० हजार, युवा तथा खेलकुदमा ३१ लाख, विपद व्यवस्थापनमा १५ लाख, सहकारी तथा वित्तीय क्षेत्र प्रवद्र्धनमा १५ लाख, वन तथा वातावरण संरक्षण तथा प्रवद्र्धनमा १० लाख, सुशासन तथा क्षमता विकासमा २७ लाख, कार्यालय सञ्चालन तथा व्यवस्थापनतर्फ सात करोड ५५ लाख १६ हजार, प्रत्येक वडालाई १ करोड २० लाखका दरले दियने पूँजीतग अनुदानतर्फ आठ करोड ४० लाख विनियोजन गरिएको उपाध्यक्ष भट्टराईले जानकारी दिए ।
गाउँसभामा अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीले गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । उनले कचनकवलको पहिचान रहेको मुलुककै होचो स्थानको पर्यटन विकास, प्रचार प्रसार र स्तरोन्नतिका लागि गाउँपालिकाले विशेष पहल गर्ने बताए । उनले कचनकवलको समृद्धिका लागि कृषि, पर्यटन, शिक्षा, स्वास्थ्यमा विशेष जोड दिइने पनि आफ्नो नीति तथा कार्यक्रममा उल्लेख गरेका छन् ।
गाउँपालिकाकी प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादवले सहजीकरण गरेको सभाको सञ्चालन योजना शाखा प्रमुुख केशव मैनालीले गरेका थिए । अधिवेशनले आइतबार नै नीति कार्यक्रम तथा बजेट पारित गरेको बताइएको छ ।