झापा । नेपालकै अग्रणी सहकारी संस्था झापाको विर्तामोडस्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले ११ औं विस्तारित भेला शनिबार सम्पन्न गरेको छ ।
संस्थाले ११ औँ विस्तारित भेलाको अवसर पारेर १२ वटा सेवा केन्द्र सञ्चालन उपसमितिलाई पुरस्कृत पनि गरेको छ ।
संस्थाले दिएको वित्तीय लक्ष्य पूरा गरेका र भाका नाघेको कर्जा शुन्य भएका सेवा केन्द्रका उपसमितिलाई पुरस्कृत गरिएको संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले बताए ।
सहाराले इलाम, घैलाडुब्बा, इँटाभट्टा, झुम्का, बुट्टाबारी, बेलबारी, चारआली, भलुवा, ज्ञानेचोक, मंगलबारे, खुदुनाबारी र तरहरा सेवा केन्द्रलाई पुरस्कृत गरेको हो ।
उत्कृष्ट सेवा केन्द्रलाई सल्लाहकार देवराज रिजाल, प्रवुद्ध समितिका संयोजक हरिचरण वानियाँ, परामर्श समितिका संयोजक रुपक दाहाललगायतले पुरस्कार प्रदान गरेका थिए ।
नेपालको उत्कृष्ट सहकारी संस्थाका रुपमा रहेको सहाराले छ जिल्लामा कार्यक्षेत्र विस्तार गरेको छ । ती जिल्लामा ८१ वटा सेवा केन्द्रमार्फत वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।
कार्यक्षेत्र विस्तार भएका पाँच जिल्लामा चालु आर्थिक वर्षमा एउटाका दरले सेवा केन्द्र थप गर्ने योजना बनाइएको कार्यकारी प्रमुख गिरीले जानकारी दिए ।
काँकडभिट्टादेखि धरानसम्मका २० वटा सेवा केन्द्रलाई वार्षिक पाँच करोड नाफा गर्ने लक्ष्यसहित पूर्ण बैङ्किङ सेवा केन्द्रमा परिणत गर्ने सहाराको लक्ष्य रहेको पनि उनले जानकारी दिए ।
यसैगरी, संस्थाले चालु आर्थिक वर्षमा १५ हजार युवा सदस्य बनाउने घोषणा गरेको छ । विस्तारित भेलामा बोल्दै कार्यकारी प्रमुख गिरीले १६ देखि ३० वर्ष उमेर समूहका कम्तीमा १५ हजार युवालाई सहारामा संगठित गर्ने योजना रहेको बताए । सहाराले मातहतका सेवा केन्द्रलाई युवा सदस्य संगठित गर्न निर्देशन पनि दिएको छ ।
‘युवाहरुलाई केन्द्रमा राखेर युथ एकाडेमी बनाउने गरी योजना बनाएका छौँ’, कार्यकारी प्रमुख गिरीले भने, ‘एकाडेमीमार्फत युवाको नेतृत्व तथा क्षमता विकासका काम सञ्चालन हुन्छन् । युवामा उद्यमशीलताको विकास गर्ने सहाराको लक्ष्य छ ।