झापाको सदरमुकाम रहेको भद्रपुरमा पिज्जा एन्ड बर्गर हाउस सञ्चालनमा आएको छ । युवा व्यवसायीहरू सुविन खडका, विनेश शर्मा, शंकर पन्त र मनोज कार्कीको संयुक्त लगानीमा भद्रपुर–५ स्थित बसपार्क नजिकै पिज्जा एन्ड बर्गर हाउस सञ्चालनमा आएको हो ।
व्यवसाय खस्कँदै गएको सीमावर्ती भद्रपुर बजारमा उल्लेख्य लगानीमा व्यवसाय सञ्चालन गर्नु चुनौती भए पनि भद्रपुरमै केही गर्ने उद्देश्य अनि पिज्जा र बर्गरका पारखीहरुको आवश्यकतालाई ध्यानमा राख्दै लगानी गरेको सञ्चालक सुविन खड्काले बताए ।
सदरमुकाम आसपासमा पिज्जा एन्ड बर्गर हाउस नहुँदा यस क्षेत्रका उपभोक्ता बिर्तामोडलगायत अन्य शहर धाउनु पर्ने अवस्था थियो । ‘अब त्यो अवस्था सकिएको छ’, सञ्चालक खड्काले भने– ‘यहाँ पिज्जा र बर्गरसहित उपभोक्ताले रोज अनुसारको दर्जनौँ प्रकारका खानेकुरा पाइन्छ, मूल्य पनि बजारको चलनचल्तीकै छ, सामान्य परिवारसमेत यहाँ आउन सक्छन् ।’
पिज्जा एन्ड बर्गर हाउस सञ्चालनमा आएसँगै आठ जनाले प्रत्यक्ष रोजगारी पाएको हाउसका अर्का सञ्चालक शंकर पन्तले बताए ।