नेपाल उद्योग तथा व्यवसायी महासंघ विर्तामोड नगर कमिटीले युवा व्यवसायी अर्जुनकुमार मैनालीलाई विर्तामोड उद्योग वाणिज्य संघको अध्यक्षमा उमेद्वार घोषणा गरेको छ । बुधवार आयोजित विस्तारित भेलामार्फत नगर कमिटीले मैनालीको नेतृत्वमा विर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनमा जाने औपचारिक घोषणा गरेको हो ।
आउँदो फागुन १४ का लागि तय भएको निर्वाचनमा मैनालीको नेतृत्वमा चुनावी तयारी थालिएको नेपाल उद्योग तथा व्यवसायी महासंघ विर्तामोड नगर कमिटीका अध्यक्ष युवराज निरौलाले बताए । अन्य संगठनहरुसँग मिलेर चुनावमा जाने योजना अनुसार अरु पदका लागि भने उमेद्वार घोषणा गर्न बाँकी छ ।
पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यमा आयोजित समारोहका बीच नेकपा एमाले बिर्तामोड नगर कमिटीका अध्यक्ष सुवास भट्टराईले मैनालीको नेतृत्वमा स्वतन्त्र तथा व्यावसायिक प्यानल खडा गरेर चुनावमा जाने घोषणा गरेका थिए ।
विर्तामोडस्थित आर्श व्याङ्क्वेटको सभाहलमा आयोजित कार्यक्रममा नेकपा एमालेको केन्द्र, प्रदेश, जिल्ला, नगर–गाउँस्तरीय कमीटीका नेता, जनवर्गीय संगठनहरुका नेतृत्वहरुको सहभागिता थियो ।
अध्यक्ष पदका लागि उम्मेद्वार घोषणा गरएका मैनाली विर्तामोड उद्योग वाणिज्य संघको वर्तमान महासचिव हुन् । आधा दर्जनजति औद्योगिक–व्यावसायिक प्रतिष्ठानहरुमा आबद्ध मैनालीले विर्तामोड उद्योग वाणिज्य संघलाई व्यवसायीको हकहितका लागि काम गर्ने संगठनको रुपमा स्थापित गर्नका लागि आफूले अध्यक्ष पदमा उम्मेद्वारी दिन लागेको प्रतिक्रिया दिएका छन् ।