झापा । चेम्बर अफ कमर्स झापाको अध्यक्षमा विर्तामोडका उद्यमी ओमकृष्ण विमली निर्वाचित भएका छन् । सोमबार झापाको पर्यटकीय स्थल मेचीनगरस्थित कालिका सिमसारमा सम्पन्न छैठौं वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनबाट विमली दोस्रो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् । अध्यक्ष पदमा अरु कसैको पनि उम्मेद्वारी नपरेपछि विमलीलाई अध्यक्षमा निर्वाचित भएको घोषणा गरिएको निर्वाचन समितिले जनाएको छ । उनी यसअघि जिल्ला अध्यक्ष थिए भने नेपाल चेम्बर अफ कमर्सको वर्तमान केन्द्रीय सदस्य पनि हुन् ।
विमलीको नेतृत्वमा ३ वर्षे कार्यकालका लागि १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो ।
अधिवेशनले बरिष्ठ उपाध्यक्षमा यामनाथ विमली, उपाध्यक्षमा प्रदीप खरेल, मोहनकुमार मित्तल, घनश्याम चौधरी र भीमा शिवाकोटी, सचिवमा विरोध सुवेदी, सह–सचिवमा टंकप्रसाद भट्टराई र उमादेबी भट्टराई (प्रसाईं) , कोषाध्यक्षमा शत्रुघनप्रसाद गुप्ता एवम् सदस्यमा शीला ढकाल, लक्ष्मीप्रसाद सापकोटा र रोहितकुमार भट्टराईलाई सर्वसम्मत चयन गरेको निर्वाचन समितिका सदस्य अनिल ढुंगानाले जानकारी दिए ।
साधारणसभाको उद्घाटन नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय अध्यक्ष राजेन्द्र मल्लले गरेका थिए । समारोहका प्रमुख अतिथि केन्द्रीय अध्यक्ष मल्लले संस्था स्थापनाकालदेखि हालसम्म नेपालमा चेम्बरले पुर्याएको योगदानबारे चर्चा गर्दै वर्तमान अकरिलो अवस्थामा व्यवसायीलाई धैर्यपूर्वक आफ्नो व्यवसाय सञ्चालन गर्न आग्रह गरे । उनले नेपालको निजी क्षेत्र अहिले संकटमा रहेको उल्लेख गर्दै सरकारले उद्योग–व्यवसाय क्षेत्रलाई राहत पुग्नेखालको योजना ल्याउनुपर्नेमा जोड दिए । केन्द्रीय अध्यक्ष मल्लले निर्यातको संभावना बोकेका चिया, अलैंचीलगायतका कृषिजन्य वस्तुको तेस्रो बजार खोजी र निर्यात सहज बनाउने सन्दर्भमा नेपाल चेम्बर अफ कमर्सले सरकारसमक्ष लविङ गर्ने जानकारी दिएका थिए ।
उद्घाटन समारोहमा चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य एवम् नेपाली सामग्री प्रचार–प्रसार ससमितिका सभापति सन्तोष पाण्डे, चेम्बर अफ कमर्स कोशी प्रदेश अध्यक्ष सुरेशमान श्रेष्ठ, झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद वाँस्तोला, मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मी, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख दुर्गाराज रेग्मी, आन्तरिक राजश्व कार्यालय भद्रपुरका प्रमुख कृष्णचन्द्र काफ्ले महिला चेम्बर अफ कमर्स झापा अध्यक्ष प्रेमा भट्टराई, पत्रकार महासंघ झापा अध्यक्ष एकराज गिरीलगायतले शुभकामना मनतब्य राखेका थिए ।
चेम्बर अफ कमर्स झापाका वरिष्ठ उपाध्यक्ष सुवास भट्टराईले स्वागत गरेको साधारणसभा उद्घाटन समारोहको सञ्चालन सचिव प्रदीप खरेलले गरेका थिए । साधारणसभाले अध्यक्ष विमली, सचिव खरेल र कोषध्यक्ष शत्रुघनप्रसाद गुप्ताको प्रतिवेदन पारित गरेको थियो । सोही अवसरमा आफ्नो कार्यकालमा संस्थाको गरिमा उच्च राख्न उत्कृष् कार्य गरेको भन्दै चेम्बर अफ कमर्स मेचीनगरलाई सम्मान गरिएको थियो ।
अधिवेशनबाट निर्वाचित पदाधिकारीलाई सोमबार नै सपथ गराइएको थियो । केन्द्रीय अध्यक्ष मल्लकै प्रमुख आतिथ्यमा निर्वाचन समितिका संयाजक शिवकुमार अग्रवालले पदाधिकारी–सदस्यलाई सपथ गराएका थिए भने प्रमुख अतिथि मल्ल, चेम्बरको कोशी प्रदेश उपाध्यक्ष सन्तोष अग्रवाललगायतले दमद्दटडनानिर्वाचित कार्यसमितिलाई कार्यकाल सफलताको शुभाकमना व्यक्त गरेका थिए भने
नवनिर्वाचित अध्यक्ष विमलीले चेम्बरमा आबद्ध उद्योगी–व्यवसायीका समस्या न्यूनीकरण र गुनासो निराकरणका लागि सम्बन्धित सरोकारवाला निकायसँग समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे ।
वि. सं २०७४ सालमा स्थापित चेम्बर अफ कमर्स झापाले व्यावसायिक हकहित, व्यावसायिक दक्षता विकासलगायत विभिन्न क्षेत्रमा काम गर्दै आएकोले संस्थाप्रति उद्योगी–व्यवसायीको आकर्षण र विश्वास पनि बढ्दै गएको नवनिर्वाचित अध्यष विमलीले बताए । चेम्बर अफ कमर्स झापामा लगभग १८० सदस्य आवद्ध छन् ।