झापा । नेपाल हृदय रोग निवारण प्रतिष्ठान झापाको अध्यक्षमा विर्तामोड निवासी सन्तोष अग्रवाल चयन भएका छन् ।
झापाको दुर्गापुरमा सम्पन्न प्रतिष्ठानको अधिवेशनले अग्रवालको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । रोटरी क्लव अफ विर्तामोड मिडटाउनका संस्थापक अध्यक्ष, नेपाल चेम्बर अफ कमर्सका कोशी प्रदेश कार्यसमितिका वर्तमान उपाध्यक्षसहित विभिन्न सामाजिक संघसंस्थाको सफल नेतृत्व गरिसकेका अग्रवालको नेतृत्वमा गठित कार्यसमितिमा निवर्तमान अध्यक्ष कुमारमणि पोखरेल, दुईजना उपाध्यक्ष शुभकुमाई पाठक र लुवराज उप्रेती, सचिवमा उषा श्रेष्ठ, सहसचिवमा रामप्रसाद निरौला, कोषाध्यक्षमा विनोद चापागाईँ र सहकोषाध्यक्षमा ससिम पोखरेल सर्वसम्मत चयन भएका छन् ।
त्यस्तै सदस्यमा लक्षेन्द्रप्रसाद यादव, दिनेशकुमार पोखरेल, रत्ना बुढाथोकी रहेका छन् । समितिको पहिलो बैठकले डिल्लीराम मैनाली र कमलप्रसाद कोइरालालाई सदस्यमा मनोनित गरी १३ सदस्यीय कार्यसमिति गठन गरिएको नवनिर्वाचित अध्यक्ष अग्रवालले बताए ।
सर्वसम्मत नेतृत्व चयनकालागी डिल्लीराम मैनालीको संयोजकत्वमा प्रतिष्ठानका संस्थापक अध्यक्ष डा. सी.पी. यादव र निवर्तमान अध्यक्ष कुमारमणि पोखरेल सदस्य रहेको निर्वाचन समितिले भूमिका निर्वाह गरेको थियो ।
प्रतिष्ठानको लक्ष्य अनुसार नयाँ योजनाका साथ सबैसँग सहकार्य गरेर अघि बढ्दै संस्थालाई थप उचाइमा पुर्याउने नवनिर्वाचित अध्यक्ष अग्रवालले प्रतिवद्धता व्यक्त गरेका छन् ।
प्रतिष्ठानका अध्यक्ष कुमारमणि पोखरेलको अध्यक्षतामा सम्पन्न साधारणसभामा अध्यक्ष पोखरेलले आफ्नो नेतृत्वमा संस्थाबाट भएका विभिन्न गतिविधिका बारेमा जानकारी गराएका थिए । प्रतिष्ठानले ग्रामीण क्षेत्रका विपन्न वर्ग र समुदायमा लक्ष्ाित गरी मुटु रोगसँग सम्बन्धित निशुल्क स्वास्थ्य शिविर, सचेतना साथै अन्तरक्रियामूलक कार्यक्रम सञ्चालन गर्दै आएको पोखरेलले बताए ।
विभिन्न क्षेत्रमा भएका स्वास्थ्य शिविरबाट थप उपचार गर्नुपर्ने मुटु रोगसँग सम्बन्धित ७ जना बिरामीलाई थप उपचारका लागि केन्द्रमा सिफारिस गरिएको अध्यक्ष पोखरेलले जानकारी दिए । प्रतिष्ठानकी उपाध्यक्ष शुभ कुमाई पाठकले स्वागत गरेको साधारणसभामा संस्थापक अध्यक्ष डा.सी.पी.यादवले सुझावसहित शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन सचिव लुवराज उप्रेतीले गरेका थिए ।