विर्तामोड । झापामा सर्वाधिक सदस्य संख्या रहेको विर्तामोड उद्योग वाणिज्य संघको यही फागुन १४ गते हुने निर्वाचनका लागि नेपाली कांग्रेसनिकट लोकतान्त्रिक व्यावसायिक प्यानलका तर्फबाट उम्मेदवार घोषणा गरिएको छ ।
नेपाली कांग्रेसले नेकपा समाजवादी (एकीकृत)–सँगको गठबन्धनमा मंगलबार विर्तामोडको अतिथि सदनमा आयोजित उम्मेद्वार घोषणा सभामा प्यानलका उम्मेद्वारहरुको नाम घोषणा गरेको हो ।
चुनाव प्रचारप्रसार समितिका संयोजक बलराम कार्कीले उम्मेदवारहरूको नाम घोषणा गरेका थिए ।
लोकतान्त्रिक व्यावसायिक प्यानलक तर्फबाट पदाधिकारीतर्फ अध्यक्षमा राजु न्यौपाने, बरिष्ठ उपाध्यक्षमा सञ्जीव घिमिरे, उद्योग उपाध्यक्षमा विशाल थापा, वाणिज्य उपाध्यक्षमा जीवनकुमार खड्का, जनसम्पर्क उपाध्यक्षमा राधिका चुडाल हुमागाईँ, महासचिवमा कुशल खतिवडा, उद्योग सचिवमा पुकार बराल, वाणिज्य सचिवमा राजकुमार शाह, कोषाध्यक्षमा दीपक मित्तल र सह–कोषाध्यक्ष तिलोतमा खत्रीको उम्मेद्वारी घोषणा गरिएको छ ।
त्यसैगरी, सदस्यमा योगेश शर्मा भट्टराई, दिनेश श्रेष्ठ, अनन्तलाल महतो, रमेश घिमिरे, अरुण जैन, डिल्ली कोइराला, श्यामकृष्ण पाठक, महिला सदस्यमा सुशीला बस्नेत कार्की र निशा शाह गुप्तालाई उम्मेदवार घोषणा गरिएको छ ।
निर्वाचन परिचालन मूल समितिका संयोजक नेपाली कांग्रेस विर्तामोड नगर सभापति भोजराज सिटौलाको अध्यक्षतामा आयोजित उम्मेद्वार घोषणासभामा नेपाली कांग्रेस झापा सभापति देउकुमार थेवे प्रमुख अतिथि थिए ।
उम्मेद्वार घोषणा सभामा संघका पूर्व अध्यक्ष राजेन्द्र थापा, संघका वर्तमान अध्यक्ष प्रकाश शिवाकोटी, कांग्रेस झापा सचिव कृष्ण हुमागाईं, कांग्रेस झापा कोषाध्यक्ष जलकुमार गुरुङ, नेपाल अलैँची व्यवसायी महासङ्घका अध्यक्ष निर्मल भट्टराई, देवी मावि व्यवस्थापन समितिका अध्यक्ष आशिष बन लगायतको उपस्थिति थियो ।
कार्यक्रमको सञ्चालन कुशल खतिवडाले गरेका थिए ।
समारोहमा लोकतान्त्रिक व्यावसायिक प्यानलको २१ बुँदे घोषणापत्र पनि सार्वजनिक गरिएको थियो ।