विर्तामोड उ. वा. संघमा अर्जुन मैनालीको नेतृत्वमा स्वतन्त्र व्यावसायिक प्यानलको उम्मेदवारी घोषणा

विर्तामोड । यही फागुन १४ गते हुन गइरहेको विर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनका लागि स्वतन्त्र व्यावसायिक प्यानलले उम्मेद्वारी घोषणा गरेको छ । आज विर्तामोडस्थित अतिथि सदनमा संघका वर्तमान महासचिव अर्जुनकुमार मैनालीको नेतृत्वमा स्वतन्त्र प्यानलको उम्मेद्वारी घोषणा गरिएको हो । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमियाले उम्मेदवारहरुको नाम घोषणा गरेका थिए ।
स्वतन्त्र व्यावसायिक प्यानलबाट अध्यक्षमा अर्जुनकुमार मैनाली, वरिष्ठ उपाध्यक्षमा राजकुमार घिमिरे (राजु), उद्योग उपाध्यक्षमा ओमप्रकाश श्रेष्ठ, वाणिज्य उपाध्यक्षमा गंगा मैनाली, जनसम्पर्क उपाध्यक्षमा गोमा भट्टराई, महासचिवमा कृष्ण पौडेल, उद्योग सचिवमा विसम लिम्बू, वाणिज्य सचिवमा कृष्ण चापागाईं, कोषाध्यक्षमा युवराज निरौला र सह–कोषाध्यक्षमा निशा कर्णको नाम घोषणा गरिएको छ ।

खुला सदस्यमा शत्रुघनप्रसाद गुप्ता, केदार खनाल, शोतलाल राजवंशी, कृष्ण बजगाईं , राकेशकुमार सिंह, चन्द्रा भट्टराई, अमिर खान, महिला सदस्यमा सुष्मा उप्रेती (सुवेदी) र रीता चौधरी अग्रवाल रहेका छन् ।
स्वतन्त्र उम्मेदवारहरुलाई पाँच दलले समर्थन जनाएका छन् ।

उम्मेदवार घोषणा समारोहमा अध्यक्षका उम्मेदवार अर्जुनकुमार मैनालीले वाणिज्य संघमार्फत व्यवसाय क्षेत्रमा रुपान्तरण ल्याउन स्वतन्त्र प्यानलको जीत आवश्यक रहेको बताए । उनले यथास्थितिलाई निरन्तरता दिने कि परिवर्तनको थालनी गर्ने ? त्यसमा व्यवसायीहरुले ध्यान दिनुपर्ने बताए । व्यावसायीको हकहितमा काम गर्ने प्रतिबद्धता जनाउँदै अध्यक्षका उम्मेदवार मैनालीले रुपान्तरणका लागि स्वतन्त्र व्यावसायिक प्यानललाई मत दिन आह्वान गरे ।

समारोहमा अधिकांश वक्ताले वर्तमान नेतृत्वका कारण वाणिज्य संघप्रति व्यवसायीहरुको विश्वास हराएको बताए । व्यावसायीको हितमा काम नगरेसम्म विश्वास जित्न नसकिने भन्दै उनीहरुले विर्तामोडलाई जोगाउन पनि स्वतन्त्र प्यानललाई जिताउन आवश्यक रहेको धारणा राखे । धुलाबारी र भद्रपुरजस्तै विर्तामोड पनि कमजोर बनाउने खेल भइरहेको भन्दै अग्रज व्यवसायीहरुले विर्तामोडलाई सुकाउने षडयन्त्रविरुद्ध सबै व्यवसायी एकजुट हुनुपर्ने बताएका थिए ।

उम्मेदवार घोषणा समारोहमा राप्रपाका केन्द्रीय सदस्य एवम् अग्रज व्यवसायी राजकुमार पोखरेल, विर्तामोड उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कुमार भट्टराई, माओवादीका नेता भानु दंगाल, वाणिज्य संघका केन्द्रीय सदस्य उमेश डालमिया, नेकपा एमालेका केन्द्रीय सदस्य दीपक कार्की, निर्वाचन परिचालन समिति संयोजक एकराज कार्की, रास्वपाका अर्जुन उप्रेतीलगायतले मन्तव्य राखेका थिए । राप्रपा विर्तामोड अध्यक्ष रञ्जु प्याकुरेलले स्वागत गरेको उम्मेद्वार घोषणा समारोहको सञ्चालन नेकपा एमाले विर्तामोडका अध्यक्ष एवम् व्यवसायी सुवास भट्टराईले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *