झापाको बिर्तामोडमा जारी छैठौँ अर्ना झापा गोल्ड कपमा कठिन जीत निकाल्दै लिग च्याम्पियन चर्च ब्वाइज सेमिफाइनलमा प्रवेश गरेको छ ।
विर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आज सम्पन्न दोस्रो क्वार्टर फाइनल खेलमा काठमाडौंको न्युरोड टिम ९एनआरटी०–लाई १–० ले पाखा लगाउँदै चर्च ब्वाइज अन्तिम चारमा आफूलाई सुरक्षित गर्न सफल भएको हो । चर्च ब्वाइजको जीतका लागि एक मात्र गोल विदेशी खेलाडीबाट सम्भव भयो । खेलको ३६औँ मिनेटमा अवयोमी फकुन्लेले पेनाल्टी एरियाबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । दायाँ साइडबाट सञ्जित राई ९लाहुरे० ले दिएको पासलाई फकुन्लेले गोल गरेका थिए ।
एनआरटी पाँचपटकको लिग विजेता हो । एनआरटीले यो वर्ष स्थापनाको ९०औँ वार्षिकोत्सव मनाउन लागेको छ । भर्खरै सम्पन्न केपी ओली कपमा उपविजेता भएको एनआरटी लिग विजेता चर्च ब्वाइजसँग स्तब्ध भएको हो ।
खेलको प्लेयर अफ दि म्याच विजेता टिम चर्च ब्वाइजका सञ्जित राई ९लाहुरे० भए । उनले ११ हजार रुपैयाँ पुरस्कार पाए ।
बुधबारको खेल त्रिभुवन आर्मी एफसी र मछिन्द्र फुटबल क्लबबीच हुनेछ । आर्मी चारपटकको झापा गोल्डकपको विजेता टोली हो । साविक विजेता आर्मीसँग पहिलोपटक सहभागी हुन लागेको मछिन्द्र एफसीले प्रतिस्पर्धा गर्न लागेको हो ।
फागुन २८ गतेसम्म सञ्चालन हुने गोल्डकपमा झापा ११ एफसीसहित १० टोली सहभागी छन् । विजेता टोलीले नगद १३ लाख र आकर्षक ट्रफी पाउने छ भने उपविजेताले नगद ७ लाख प्राप्त गर्ने झापा गोल्डकपका अध्यक्ष विनोद वस्नेतले जानकारी दिनु भयो ।