झापा गोल्डकप ः झापा ११ सेमिफाइनलमा

झापा । आयोजकको टिम झापा ११ एफसी झापा गोल्ड कप छैठौं संस्करणको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा पाहुना टोली एन्फा मकवानपुरलाई ५–१ गोलले हराउँदै झापाले अन्तिम चारमा स्थान बनाएको हो ।

झापाको जीतमा आदित्य शाक्य, प्रदिप बुढाथोकी, बबिन बोहरा, आशिष चापागाईं र विदेशी खेलाडी मार्क जुयिनर ह्यारिसनले एक–एक गोल गरे । मकवानपुरको लागि ओस्कारले सान्त्वना एक गोल फर्काए ।
झापाले पहिलो हाफमा पहिलो गोल गर्दा दोस्रो हाफमा थप चार गोल गरेको हो । खेलमा अग्रता झापाले नै बनायो । खेलको २५औँ मिनेटमा आदित्यले पहिलो गोल गरेका हुन् । आशिष चापागाईंले निकालेको थ्रु बलमा आदित्यले चलाखीपूर्ण गोल गरे । मकवानपुरका गोलकिपर गोपी बर्तौलाले बचाउने प्रयास गरे पनि सफल भएनन् । ६६औँ मिनेटमा विदेशी खेलाडी ह्यारिसनले आयोजकको लागि दोस्रो गोल गरे । दिपेश आले मगरले मध्यभागबाट मिलाएको एयर बललाई नियन्त्रणमा लिँदै ह्यारिसनले सुन्दर गोल गरेका हुन् । गोलकिपर गोपी अगाडि बढेर बचाउने प्रयास गरे पनि सफल भएनन् ।

मकवानपुरका ओस्कारले ६९औँ मिनेटमा एक गोल फर्काए । समिराज थोकरले दायाँ भागबाट मिलाएको बललाई बक्समा रहेका ओस्कारले वान टचमै गोल गर्न सफल भएका हुन् । उनले अग्रता छोट्याउने प्रयास गरे पनि झापा खेलमा हाबी भएको थियो ।

खेलको ८३औँ मिनेटमा प्रदिप बुढाथोकीले तेस्रो गोल गरे । उनी मैदान प्रवेश गरेको पहिलो मिनेटमै गोल गर्न सफल भए । ह्यारिसनको स्थानमा मैदान प्रवेश गरेको पहिलो टचमै उनले गोल गरेका हुन् ।

खेलको इन्ज्युरी समयमा झापाले दुई गोल गर्यो । बबिन बोहराले चौथो गोल गरेका हुन् । बक्सभित्र पाएको अवसरलाई उनले सहजै जाली चुमाए । अर्को गोल आशिषको नाममा रह्यो । आशिषले बक्सबाहिर पाएको बललाई अगाडि बढाउँदै सुन्दर गोल गरेका हुन् ।

यसअघि दुवै टोलीले गोलका निकै अवसर सिर्जना गरेका थिए । तर, फाइनल थर्डमा दुवै टोली चुके । खेलमा मकवानपुरभन्दा झापा बलियो देखियो ।

खेलको १८औँ मिनेटमा झापा सुन्दर गोल गर्नबाट चुक्यो । अगाडि बढाउँदै दुई रक्षक र गोलकिपर बिट गरेका ह्यारिसन अन्तिममा भने चुके । उनले खाली पोस्टमा प्रहार गरे पनि कप्तान सुरज विष्ट गोललाइनबाट क्लियर गर्न सफल भएका थिए ।

४४औँ मिनेटमा आदित्यको शक्तिशाली प्रहार गोलकिपर गोपीले पञ्च आउट गरे । ४८औँ मिनेटमा ह्यारिसनकै प्रहार गोपीले बचाउ गरे । खेलको ७३औँ मिनेटमा आशिष चापागाईंले बक्सभित्रबाट हानेको प्रहार बारमा लागेर फर्कियो । खेलको ६२औँ मिनेटमा मकवानपुरले अवसर बनाएपछि बक्सबाहिरबाट कप्तान सुरजले हानेको फ्रिकिक प्रहार सटिक रहेन ।

यो खेलसँगै सेमिफाइनल समीरकण पूरा भएको छ । विभागीय टोली त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपीएफ एफसी, चर्च ब्वाइज र झापा ११ अन्तिम चारमा पुगेका छन् । पहिलो सेमिफाइनलमा एपीएफ र आर्मी शुक्रबार प्रतिस्पर्धा गर्नेछन् । शनिबार हुने दोस्रो सेमिफाइनलमा चर्च ब्वाइज र झापा भिड्नेछन् । यसअघि पाँच संस्करण आयोजना हुँदा आर्मीले चारपटक उपाधि जितिसकेको छ । मनाङ मस्र्याङ्दी क्लब एकपटकको विजेता हो ।
आजको खेलको प्लेयर अफ द म्याच विजेता टिम झापाका पहिलो गोलकर्ता आदित्य शाक्य भए । उनले नगद ११ हजार रुपैंयाँ पुरस्कार पाए ।
खेलपछि भएको पोस्ट म्याच कन्फ्रेन्समा बोल्दै विजेता टिम झापाका प्रशिक्षक अंगुुरकुमार खड्गीले घरेलु दर्शको समर्थनले जीत निकाल्न सकिएको बताए । फाइनल जित्नेगरी तयारी गरिएको उनको दाबी छ ।
पराजित टिमका प्रशिक्षक अशोक बरालले तयारी पूर्णरुपमा गर्न नसकेको हुनाले जीत निकाल्न नसकेको बताए । टिमका महत्वपूर्ण तीनजना खेलाडीको अभावका कारण पनि मैदानमा सेट हुन गाह्रो भएको उनले बताए ।
प्रतियोगिताको विजेताले १३ लाख रुपैयाँ नगद र आकर्षक ट्रफी पाउनेछ । उपविजेताले ७ लाख रुपैयाँमा चित्त बुझाउनेछ । फागुन १९ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल फागुन २८ गते हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *