झापा । झापाको विर्तामोडस्थित बी एण्ड सी टिचिङ्ग हस्पिटलले नेपाल सरकारद्वारा संचालित स्वास्थ्य विमा कार्यक्रम साउन १ गतेबाट पुनः सञ्चालन गर्ने भएको छ । आइतबार हस्पिटल परिसरमा पत्रकार सम्मेलन गर्दै बी एण्ड सी हस्पिटलका जनसम्पर्क अधिकारी तथा प्रवक्ता प्रमिश गिरीले विमा कार्यक्रम सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए ।
उनका अनुसार १० वटा दर्ता काउन्टरबाट विरामीलाई सहजै सेवा दिने तयारी गरिएको छ । लामो समय लाइन बस्नुपर्ने बाध्यतालाई हटाएर सहजै सेवा दिने गिरीको भनाइ छ । ‘बी एण्ड सीमा रेफर गरेर आएका विमितहरुले उपचार पाउने छन्’, उनले भने– ‘इमरजेन्सीहरुको हकमा सोझै अस्पताल आए पनि स्वास्थ्य विमाबाट उपचार गर्न पाइनेछ ।’
नेपाल सरकार स्वास्थ्य विमा बोर्ड तथा बी एण्ड सी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर बिर्तामोड झापाबीच भएको सम्झौताबमोजिम साउन १ गतेबाट स्वास्थ्य विमा कार्यक्रममार्फत स्वास्थ्य सेवा दिन लागिएको गिरीले बताए ।
स्वास्थ्य विमा कार्यक्रमअन्तर्गत सेवाग्राहीहरुलाई औषधि, स्वास्थ्य परीक्षण, सर्जरीलगायतमा सुविधा उपलब्ध गराइनेछ । बी एण्ड सी अस्पतालमा २४ सै घण्टा इमरजेन्सी सेवासहित न्यूरोलोजी, अर्थोपेडिक्स, फिजिसियन, सर्जरी, स्त्रीरोग, बालरोग, मुटुरोग, मानसिक रोग, चर्म रोगलगायतका सेवा रहेका छन् । मोडुलर अपरेसन थिएटर, सिटि स्क्यान, एमआरआई, अल्ट्रासाउण्ड, क्याथल्याब, उच्चस्तरीय प्याथोलोजी परीक्षण सेवा रहेको अस्पतालमा जटिल प्रकारका सर्जरीहरु गरिँदै आइरहेको मेडिकल डाइरेक्टर डा. वीरेन्द्र यादवले जानकारी दिए ।
स्वास्थ्य विमा कार्यक्रमलाई व्यवस्थित तरिकाले संचालन गर्न अस्पतालमा, एमडी, एमसीएच, एमएस गरेका वरिष्ट चिकित्सक, तालिम प्राप्त प्राविधिक तथा अन्य जनशक्तिहरुले सेवा दिने डा. उमेश शर्माले बताए ।
प्रवक्ता गिरीका अनुसार उपचारमा आउने बिरामीहरुको लागि कुरुवा कक्षसहित प्रविधिमैत्री वातावरणमा उपचार सेवा प्रदान गरिनेछ ।