कोपा अमेरिका फुटबल २०२४ को उपाधिमा विश्व विजेता अर्जेन्टिनाले कब्जा जमाएको छ । मिआमीमा आज बिहान भएको खेलमा कोलम्बियालाई १–० गोलले पराजित गर्दै अर्जेन्टिनाले लगातार दोस्रो उपाधि हात पारेको हो।
अर्जेन्टिनाको जितमा लाउटारो मार्टिनेजले ११२ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । निर्धारित समय गोलरहित सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो।
कोपामा पहिलो पटक ३० मिनेट अतिरिक्त समय थपिएको थियो। यसअघिका प्रतियोगितामा यो नियम थिएन । जीतसँगै अर्जेन्टिनाले १६औँ पटक कोपा अमेरिकाको उपाधि जितेको छ। कोलम्बिया २३ वर्षपछि फाइनलमा पुगे पनि उपाधि हात पार्न असफल भयो ।
यसअघि, युरोकप २०२४ को उपाधि स्पेनले हात पारेको छ ।
जर्मनीको बर्लिनमा आज राति भएको फाइनल खेलमा स्पेनले इङ्ल्याण्लाई २–१ गोल अन्तरले पराजित गर्दै कीर्तिमानी चौथोपल्ट युरोकपको च्याम्पियन बनेको हो । स्पेनका लागि ओयरजाबलले ८६औं मिनेटमा निर्णायक गोल गरे ।
प्रतियोगितामा अपराजित रहेको स्पेनले सबै खेल जितेर यो उपाधि चुमेको हो । खेलको ४७ औं मिनेटमा निको विलियम्सको गोलबाट स्पेनले अग्रता लिएको थियो । उनका लागि लामिन यमलले पास उपलब्ध गराएका थिए ।
सब्स्टिच्युट कोल पाल्मरले इङ्ल्याण्डका लागि ७३औं मिनेटमा बराबरी गोल फर्काए । युरोकपको फाइनलमा इङ्ल्याण्डको यो लगातार दोस्रो हार हो । युरोकप २०२० मा पनि इङ्ल्याण्ड फाइनलमा इटालीसँग पराजित भएको थियो ।
यससँगै इङ्ल्याण्डको ठूलो उपाधि जित्ने ५८ वर्षदेखिको सपना फेरि तुहिएको छ । इङ्ल्याण्डले सन् १९६६ मा विश्वकप उचालेयता कुनै पनि उपाधि जित्न सकेको छैन । स्पेनले भने यसअघि सन् १९६४, २००८ र २०१२ मा युरोकपको उपाधि जितेको थियो ।