झापा । झापाको प्रमुख व्यापारिक शहर विर्तामोडमा आगामी माघ ८ गतेदेखि बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव हुने भएको छ ।
यसका लागि आयोजक विर्तामोड उद्योग वाणिज्य संघले तयारी थालिसकेको छ ।
आज पत्रकार सम्मेलन गरी वाणिज्य संघले महोत्सवको तयारी शुरु गरिएको जनाएको हो । सुस्त रहेको अर्थतन्त्रलाई चलायमान बनाउने उद्देश्यले आगामी माघ ८ देखि १९ गतेसम्म बिर्तामोड–५ धर्मकाँटा रोडको मंगल एकता टोलको खाली जमिनमा महोत्सव सञ्चालन हुने संघले जनाएको छ ।
महोत्सवलाई चार भागमा विभाजन गरिएको छ । महोत्सवमा प्रदर्शनी तथा बिक्री कक्ष, सांस्कृतिक तथा सांगीतिक क्षेत्र, बाल उद्यान तथा मनोरञ्जन क्षेत्र र खानपान क्षेत्र रहेका छन् । महोत्सवमा एक सय ५० वटा स्टल रहने र छुट्टाछुट्टै चार विधाका अलग – अलग स्टल राखिने बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले बताए । उनका अनुसार महोत्सवमा व्यापारसँगै कृषि उत्पादन प्रवर्द्धन गरिने छ । कृषिका स्टललाई निःशुल्क गरिने उनको भनाइ छ । महोत्सवलाई सानादेखि ठूला व्यवसायी र आम उपभोक्तालाई एउटै थलोमा जुटाउने अवसरका रुपमा लिइएको अध्यक्ष न्यौपानेले बताए ।
महोत्सवमा नेपालसहित भारत, बंगलादेश र पाकिस्तानका लगानीकर्ता, उत्पादक, वितरक, निर्यातकर्ताहरुलाई एउटै मञ्चमा भेटघाट गराई सामग्रीहरुको प्रत्यक्ष अवलोकन तथा जानकारी उपलब्ध गराइने संघका उद्योग उपाध्यक्ष तथा महोत्सव संयोजक विशाल थापाले बताए ।
प्रदर्शनीकक्षमा अटोमोबाइल्स, बैंक तथा वित्तीय संस्था, मोबाइल, इलेक्ट्रोनिक्स तथा आइटी, निर्माण सामग्री, औद्योगिक उपकरण, कृषि तथा जडिबुटी, पर्यटन, दैनिक उपभोग्यका वस्तुहरु, हस्तकला तथा तयारी पोशाक र जुत्ताचप्पल रहनेछन् । विशिष्टखालका स्टलहरुले सजाइने महोत्सवमा मूल प्रवेशद्वार कलाकृतियुक्त निर्माण गरिने व्यवस्थापक ललित सिंखडाले जानकारी दिए । महोत्सवमा चर्चित कलाकार तथा विभिन्न ब्यान्डको दैनिक सांगीतिक प्रस्तुति रहनेछ । बाल उद्यान क्षेत्रमा पिङलगायत विभिन्न मनोरञ्जनात्मक खेलका स्टल रहने महासचिव कुशल खतिवडाले बताए ।
महोत्सवमा प्राथमिक उपचार, निःशुल्क स्वास्थ्य शिविर, रक्तदान, शौचालय, खानेपानी तथा पार्किङको व्यवस्था हुने संघका वाणिज्य उपाध्यक्ष जीवनकुमार खड्काले जानकारी दिए ।
महोत्सवलाई दुई लाखजनाले अवलोकन गर्ने र करिव डेढ करोडको कारोबार हुने अनुमान गरिएको छ । महोत्सवबाट करिव २० लाख रुपैयाँ नाफा हुने अनुमान गरिएको अध्यक्ष न्यौपानेले बताए ।
पत्रकार सम्मेलनमा आयोजकसहित नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा मेला समिति संयोजक उमेश डालमिया, नेपाल अलैँची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष निर्मल भट्टराईलगायत सहभागी थिए ।