झापा । झापाको विर्तामोड साना शहरी खानेपानी तथा सरसफा उपभोक्ता संस्थाले २२ औं वार्षिक साधारणसभा आज बिहीबार संस्थाकै परिसरमा सम्पन्न गरेको छ ।
संस्थाका अध्यक्ष मेघराज वाँस्तोलाको अध्यक्षतामा आयोजित साधारणसभाको विर्तामोड नगरपालिकार्की प्रमुख पवित्रा महतारा प्रसाईंले उद्घाटन गरिन् ।
साधारणसभामा संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष वाँस्तोलाले संस्थाले हाल दैनिक दुई करोड १० लाख लिटर पानी वितरण गर्दै आएको जानकारी दिए ।
देशकै उत्कृष्ट खानेपानी संस्थाका रुपमा परिचित संस्थाले तीनवटा ओभरहेड ट्याङ्कीमार्फत आम उपभोक्तालाई सुलभ मूल्यमा दैनिक दुई करोड १० लाख लिटर पानी वितरण गर्दै आएको अध्यक्ष वाँस्तोलाले बताए । उनले दैनिक १६ वटा डिप वोरिङ र १० वटा फिल्टर प्लान्टबाट १० हजारबढी उपभोक्तालाई सहज र सुलभ रुपमा २४ सैं घण्टा पानी वितरण भइरहेको बताए । विर्तामोड क्षेत्र तीब्र सहरीकरण भएका कारण खानेपानी सहज रुपमा उपलब्ध गराउन कठिन हुन थालेको भन्दै भन्दै अध्यक्ष वाँस्तोलाले त्यसको समाधानका लागि थप रणनीति अघि बढाइएको उल्लेख गरे ।
कार्यक्रममा उत्कृष्ट ज्येष्ठ उपभोक्ताका रुपमा पुरुषतर्फ जयबहादुर खालिङ राई र महिलातर्फ देवीमाया आचार्य तथा उत्कृष्ट कर्मचारीका रुपमा सन्तोष खरेललाई सम्मान गरिएको संस्थाका कार्यालय प्रमुख खड्गराज गिरीले जानकारी दिए ।
संस्थाका उपाध्यक्ष शैलेन्द्र सिटौलाले स्वागत गरेको समारोहको सञ्चालन संस्थाका सचिव पारसमणि मैनालीले गरेका थिए ।
समारोहमा प्रमुख अतिथि नगर प्रमुख प्रसाई, संस्थाका निवर्तमान अध्यक्ष जलकुमार गुरुङ, जिल्ला समन्वय समिति झापा उप–प्रमुख शान्ता रोक्का, सल्लाहकार हर्कलाल गिरी, विर्तामोड उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष राजेन्द्र थापा, बिराट भरत बिश्रान्तीका उपाध्यक्ष कुलप्रसाद संग्रौला, चारआली खानेपानीका अध्यक्ष राजन चिमरिया, नेपाल उद्यमशील महिला संघ झापा अध्यक्ष पार्वता विमली खरेललगायतले शुभकामना मन्तव्य राखेका थिए ।