झापा । नेपाल कराते महासंघको दोस्रो केन्द्रीय साधारणसभा बाराको निजगढमा सम्पन्न भएको छ ।
सातवटै प्रदेशका अध्यक्ष, केन्द्रीय प्रतिनिधि र पर्यवेक्षक एवम् कराते प्रशिक्षक, खेलाडीहरुको बृहत सहभागितामा साधारणसभा सम्पन्न भएको हो ।
महासंघका अध्यक्ष, राष्ट्रिय खेलकुद परिषदका पूर्व अध्यक्ष युवराज लामाको अध्यक्षतामा आयोजित साधारणसभाको उद्घाटन मधेस प्रदेश सभा सदस्य माला लामाले गरेकी थिइन् ।
निजगढस्थित तारा इन होटलको सभाहलमा आयोजित साधारणसभाको सञ्चालन महासंघका कोषाध्यष किशोर भट्टराईले गरेका थिए भने स्वागत उपाध्यक्ष देव लामाले गरेका थिए ।
लामो समयपछि भएको साधारणसभामा अध्यक्ष लामाले आफ्नो कार्यकालमा भएका कराते खेलकुदका गतिविधि र क्रियाकलाप बारे प्रतिवेदन प्रस्तुत गरेका थिए भने प्रमुख अतिथि माला लामा, विशेष अतिथि एसियन प्यासिफिक सितोरियो करातेका अध्यक्ष दावा गुरुङलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
साधारणसभाले विभिन्न निर्णय गरेको महासंघका केन्द्रीय प्रतिनिधि, झापा खेलकुद विकास समिति झापाका प्रवक्ता तथा प्रकराते प्रशिक्षक जगन दुर्वासा कार्कीले जानकारी दिए । उनका अनुसार विश्व कराते महासंघको निर्देशनअनुसार महासंघको विधानमा आवश्यक संशोधन गर्ने, प्रशासनिक तथा व्यवस्थापनसम्बन्धी नियमावली, कार्यविििध तथा निर्देशिका २०८१ अनुमोदन गर्ने, कराते खेलाडी एरिका गुरुङलाई ‘हिमालयन वारियर’ उपनामले सम्मानित गर्ने, राष्ट्रिय टिम तयारीका लागि प्रमुख प्रशिक्षक र टिम म्यानेजरसम्बन्धी कार्यविधि पारित गर्ने, राष्ट्रिय कराते एकाडेमी सञ्चालन सम्बन्धी कार्यविधि पारित गर्ने, प्रतियोगिता व्यवस्थापन कार्यविधि पारित गर्ने महास.घमा रिक्त पदहरुमा मनोनयन गर्ने अधिकार महासंघका अध्यक्षलाई प्रदान गर्ने, राष्ट्रिय टिम प्रशिक्षक कुशल श्रेष्ठ, मण्डे काजी श्रेष्ठ, राष्ट्रिय टिम छनोट समिति संयोजक दावा गुरुङ र सदस्यहरुलाई दुई वर्षको पदक उपलब्धिका लागि धन्यवाद दिने निर्णय गरेको छ ।
स्मरण रहोस्, युवराज लामाले महासंघमा नेतृत्व लिएपछि १९ औँ एसियाड प्रतियोगितामा कराते विधामा नेपालले रजत पदक कहासिल गरको थियो । कराते इतिहासमा २६ वर्षपछि नेपालले यो उपलब्धि हासिल गरेको बताइन्छ ।