झापा । झापाको भद्रपुरस्थित मेची बहुमुखी क्याम्पस पसिरको क्रिकेट मैदानमा पेवेलियन निर्माण हुने भएको छ । मेची बहुमुखी क्याम्पसको परिसरमा निर्माणाधीन क्रिकेट मैदानको स्तरोन्नति गर्ने क्रममा निर्माण हुने अफिसियल भवन (पेविलियन)–को आज एक समारोहका वीच शिलान्यास गरिएको हो ।
कोशी प्रदेशका पूर्व मुख्यमन्त्री, कांग्रेस कोशी प्रदेशका संसदीय दलका नेता, प्रदेशसभा सदस्य उद्धव थापाले भवनको शिलान्यास गरेका हुन् । भूइँतलामा ५ कोठा र माथिल्लो तलामा हलसहित ३ कोठा भएको सुविधासम्पन्न दुई तले पेवेलियन ६५ लाख ७५ हजारको लागत इस्टिमेटमा बन्न लागेको भद्रपुर क्रिकेट क्लबका संरक्षक तथा र ८ नं. वडाअध्यक्ष गौरव सुब्बा ‘मनोज’ले जानकारी दिए । भवन वनाउन प्रदेश सरकारले हाल १५ लाख रूपैयाँ वजेट विनियोजन गरेको छ भने आवश्यक बजेट थप गर्ने जनाइएको छ .
अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानमा ठूला प्रतियोगिता पनि सञ्चालन गर्न सकिने गरी पूर्वाधार बनिरहेको छ। समाजसेवी दीपक पोखरेलले प्रदान गरेको २० लाख सहयोगले साइड स्क्रिन बनिसकेको छ भने ३ वटा गुणस्तरीय पिच पनि बनिसकेको छ । त्यस्तै, प्रदेश खेलकुद विकास बोर्डले बाउण्ड्री डोरी उपलब्ध गराएको छ। मैदानको स्तरोन्नतिका लागि ३ करोडको प्रोजेक्ट तयार गरिएको जनाउँदै कोषाध्यक्ष क्षितिज खवासले सो रकमबाट प्यारापिटसहितको क्रिकेट मैदान बनाउने तयारी रहेको जानकारी दिए ।
भद्रपुर क्रिकेट क्लबका उपाध्यक्ष मनोज श्रेष्ठको अध्यक्षतामा भएको शिलान्यास समारोहमा प्रमुख अतिथि थापाले सरकारबाट थप सहयोग हुने विश्वास दिलाउँदै मेची क्याम्पसमा फुटवल मैदान पनि बन्न सक्ने सम्भावना भएकाले त्यसका लागि पनि पहल गर्न सुझाव दिए । समारोहमा प्रदेश सांसद मोहन महर्जन, भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल, सामाजिक व्यक्तित्व दीपक पोखरेललगायतको उपस्थिति थियो ।
सो अवसरमा क्रिकेट मैदानको बहिरी खण्डमा वृक्षरोपण पनि गरिएको थियो । वडाअध्यक्ष तथा संरक्षक सुब्बाले क्रिकेट मैदानको आवश्यकतामाथि चर्चा गर्दै स्वागत मन्तव्य राखेको समारोहको सञ्चालन सचिव केदार महतले गरेका थिए ।