वैदिक सनातन धर्म संरक्षण समिति, नेपाल भद्रपुर नगर समितिले नगरस्तरीय वक्तृत्वकला प्रतियोगिता आयाेजना गर्ने भएकाे छ ।
वैदिक सनातन धर्म संस्कारकाे महत्व, रक्षा र संरक्षणमा युवा पुस्तालाई समाहित गराउने उद्देश्यले यही भदौ २१ गते शनिबार वैदिक सनातन धर्म संस्कार : आजको आवश्यकता शीर्षकमा प्रतियोगिता गर्न लागिएकाे समितिका नगर अध्यक्ष नवीन भट्टराईले जानकारी दिए ।
समितिले आज भद्रपुर ७ स्थित दुर्गा मन्दिर परिसरमा समितिका केन्द्रीय सदस्य शेषराज रिजालकाे प्रमुख आतिथ्यमा पत्रकार सम्मेलन गरी साे जानकारी गराएको हाे ।
जिल्ला समन्वय समितिकाे सभाहलमा गरिने प्रतियोगितामा भद्रपुर क्षेत्रका विभन्न विद्यालयका विद्यार्थीले भाग लिन पाउनेछन् । प्रतियाेगीले कुनै पनि लेखिएका सामग्री नहेरी प्रस्तुति दिनुपर्ने समितिका उपाध्यक्ष उत्तम नेपालले जानकारी दिए ।
प्रतियाेगितामा सांगवेद संस्कृत विद्यालय विर्तामोडका प्राचार्य आचार्य साेमनाथ गाैतम, अधिवक्ता लक्ष्मी खनाल काेइराला र मेची बहुमुखी क्याम्पस प्रमुख देवीप्रसाद आचार्य निर्णायककाे रूपमा रहने नेपालले बताए । प्रतियोगितामा प्रथम, दाेस्राे र तेस्रो हुनेले क्रमश: १० हजार, ७ हजार र ५ हजार नगदसिहत पुरस्कार प्राप्त गर्नेछन् ।
कार्यक्रम सम्पन्न गर्न १ लाख ९२ हजार रूपैयाँ खर्च हुने अनुमान गरिएकाे र त्यसका लागि विभिन्न क्षेत्रबाट सहयाेग जुटाइएकाे आर्थिक समितिका संयाेजक हेमन्त पाैडेलले जानकारी दिए ।
