अर्जुनधारामा युथ १८ फुटबल सुरू, उद्घाटन खेलमा कमल गाउँपालिका विजयी

झापाको अर्जुनधारामा झापा जिल्ला पालिकास्तरीय यु–१८ फुटबल प्रतियोगिता सुरु भएको छ ।

अर्जुनधारा ७ स्थित नवनिर्मित रंगशालामा आइतबार सुरु भएको प्रतियोगिताको पहिलो खेलमा विर्तामोड नगरपालिकालाई टाइब्रेकरमा ५–३ गोलअन्तरले पराजित गर्दै कमल गाउँपालिका सेमिफाइनलमा प्रवेश गरेको छ । निर्धारित समयमा २–२ गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको थियो ।

सुरुवाती अग्रता बिर्तामोडले बनाए पनि लामो समय टिक्न सकेन । बिर्तामोडका शिव कार्कीले खेलको ३ मिनेटमै गोल गरेर अग्रता दिलाएका थिए । यसैगरी, बिर्तामोडकै आयुष दूतराजले खेलको २६औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए । तर, दोस्रो हाफमा कमल गाउँपालिकाले बराबरी गोल फर्कायो । कमल गाउँपालिकाका प्रकरण राईले खेलको ४५औँ र ४९औँ मिनेटमा व्यक्तिगत दुई गोल गरेर टिमलाई पुनरागमन गराए । उनी प्लेयर अफ दी म्याच बन्दै नगद २ हजार ५ सय पाउन सफल भए । टाइब्रेकरमा कमल गाउँपालिकाका अनुप सिवा, कविन भट्टराई, साहिल लिम्बू, अंगुस श्रेष्ठ र प्रशन चौहानको प्रहार गोलमा परिणत भएको थियो । बिर्तामोडका शिव कार्की, फिरोज राई र आयुष चौधरीको प्रहार गोलमा परिणत भए पनि सतिश राईको प्रहार कमल गाउँपालिकाका गोलरक्षक प्रवेश कार्कीले रोकेका थिए ।

शनिश्चरे फुटबल क्लबको आयोजना तथा अर्जुनधारा नगर खेलकुद विकास समितिको सहआयोजनामा भएको प्रतियोगिताको उद्घाटन झापा ११ फुटबल क्लवका अध्यक्ष तथा मेची आँखा अस्पतालका अध्यक्ष जलकुमार गुरुङले गरेका थिए । उद्घाटन समारोहमा निर्माणाधीन खेल मैदानका संयोजक मिलन वस्नेत, नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमाललगायतको उृपस्थिति थियो । प्रतियोगिताको फाइनल खेल माघ १९ गते हुनेछ । ९ वटा पालिकाको टिम सहभागी प्रतियोगिताको विजेताले नगद १ लाखसहित आकर्षक ट्रफी पाउने छ । उपविजेताले नगद ५० हजारमा चित्त बुझाउनु पर्नेछ । सर्वोत्कृष्ट बन्ने खेलाडीले नगद ७ हजार पाउँदा विधागत विजेता खेलाडीले जनही ५–५ हजार पाउने आयोजक क्लवका अध्यक्ष एवम् प्रतियोगिताका संयोजक टेकराज तिलिङले जानकारी दिए । आज बाह्रदशी गाउँपालिकाले कनकाई नगरपालिकासँग प्रतिस्पर्धा गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *