कोशी पाथीभरा इण्डो–नेपाल टी–२० प्रतियोगिताको तयारी तीव्र

झापा । झापाको सदरमुकाम भद्रपुर–८ स्थित ऐतिहासिक मेची रंगशालामा झापा औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव सञ्चालन भइरहँदा भद्रपुर ८ कै मेची बहुमुखी क्याम्पसको क्रिकेट मैदानमा इण्डो–नेपाल २०–२० क्रिकेट प्रतियोगिताको तयारीलाई तीव्रता दिइएको छ ।

भद्रपुर क्रिकेट क्लवको आयोजनामा यही माघ २१ देखि २९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी तीव्र बनाइएको प्रतियोगिता आयोजक समितिका संयोजक तथा भद्रपुर नगरपालिका वडा नंं ८ का वडाध्यक्ष गौरब सुब्बा ‘मनोज’–ले जानकारी दिए ।

अहिले मैदानमा पिचलाई अन्तिम रुप दिने गरी काम भइरहेको छ भने दर्शकका लागि बाँसे प्यारापिट निर्माण कार्यलाई पनि तीव्रता दिइएको उनले जानकारी दिए । दर्शकका लागि प्राकृतिक प्यारापिटको पनि व्यवस्था रहेको उनको भनाइ छ । यसैगरी, क्रिकेटको प्राविधिक विषयहरुमा पनि काम भइरहेको वडाध्यक्ष सुब्बाले जानकारी दिए ।

प्रतिया्ेगितामा सहभागी टिमहरुको यसअघि नै टुंगो लागिसकेको बताइएको छ । भारतका ४ र नेपालका ४ टिमको सहभागिता रहनेछ । ती टिमलाई दुईवटा समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइने बताइएको छ ।

आयोजना नजिकिँदै गर्दा प्रतियोगिताप्रति क्रिकेटप्रेमीहरुको चासो पनि बढ्दै गएको भद्रपुर क्रिकेट क्लवका महासचिव वसन्त पोखरेलले बताए । उनले विभिन्न माध्यमबाट प्रतियोगिताको प्रचार–प्रसारलाई पनि तीव्रताका साथ अघि बढाइएको जानकारी दिए ।

प्रतियोगितालाई विभिन्न क्षेत्रबाट विभिन्न किसिमका सहयोग भइरहेको पनि आयोजकले जनाएको छ ।

आयोजक भद्रपुर क्रिकेट क्लवका अध्यक्ष आदित्य पराजुलीले कोशी प्रदेश सरकारले घोषणा गरेको पर्यटन वर्षसमेतलाई जोडेर यो प्रतियोगिता आयोजना गरिएको बताएका छन् ।

प्रतियोगितामा नेपालका तर्फबाट आयोजक भद्रपुर क्रिकेट क्लव, काठमाडौं, सुदूरपश्चिम र गण्डकी तथा भारतका तर्फबाट दिल्ली, लखनउ, आसाम र सिक्किमले सहभागिता सुनिश्चित भएको आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *