झापा । झापाको भद्रपुरस्थित ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थल कीचकबध क्षेत्रनजिक रहेको मातातीर्थ तथा विष्णुपादुका मन्दिर परिसरमा सप्ताह ज्ञान महायज्ञ आयोजना हुने भएको छ। भद्रपुर नगरपालिका–३ मा पर्ने मातातीर्थ तथा बिष्णुपादुका मन्दिर परिसरमा आगामी बैशाख ६ गतेदेखि १३ गतेसम्म श्रीमद्भागवत महापुराण धन धान्याञ्चल सप्ताह ज्ञान महायज्ञ हुन लागेको हो ।
अधुरो भवन निर्माण तथा अक्षयकोष स्थापनाका लागि सप्ताह ज्ञान महायज्ञ आयोजना गर्न लागिएको आज बुधबार पत्रकार सम्मेलनमार्फत मातातीर्थ तथा विष्णुपादुका मन्दिर पुराण मूल आयोजक समितिले जानकारी गराएको छ । मन्दिरमा बैशाख ६ गते महायज्ञको विधिवत् उद्घाटन गरिनेछ भने बैशाख ७ गतेदेखि १३ गतेसम्म नियमित संगीतमय कथावाचन तथा पाठ पारायण हुने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हेमप्रसाद खनालले बताए ।
महायज्ञ अवधिभर दैनिक रूपमा पूजा पाठ, भजन–कीर्तन तथा विभिन्न धार्मिक तथा सांस्कृतिक झाँकी प्रदर्शनजस्ता कार्यक्रम सञ्चालन गरिने खनालले बताए ।

महायज्ञमा पण्डित पदम पौड्यालबाट श्रीमद्भागवतको मूलपाठ पारायण तथा पण्डित उदय खनाल शास्त्रीबाट भागवत कथा वाचन तथा आध्यात्मिक प्रवचन प्रस्तुत गरिने कार्यक्रम रहेको मन्दिर समितिका उपाध्यक्ष तारा सुवेदीले बताइन् । २०६८ सालमा मन्दिर समिति गठन गरी विभिन्न दाताहरूको सहयोगमा २०७४ सालमा मातातीर्थ तथा बिष्णुपादुका मन्दिर निर्माण गरिएको बताउँदै उपाध्यक्ष सुवेदीले कीचकबध क्षेत्रमै रहेको यो मन्दिर विषेशतः पितृ उद्धारका लागि निर्माण गरिएको बताइन् । भद्रपुर क्षेत्रमा कुनै पनि मन्दिर यस्तो किसिमको नभएको र यो अपरिहार्य भएकाले यो मन्दिर स्थापना गरिएको उनको भनाई छ । हालसम्म कुनै पनि सरकारी तथा गैरसरकारी संस्थाबाट कुनै किसिमको सहयोग प्राप्त नभएको र मनकारी श्रद्धालु भक्तजनहरूको साथ– सहयोगबाट मिन्दर र अन्य संरचना निर्माण भएको सहसचिव नेत्र दाहालले बताए ।
महायज्ञमा देशका विभिन्न स्थानबाट श्रद्धालु भक्तजनहरूको सहभागिता रहने र त्यसले स्थानीय धार्मिक तथा पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने आयोजकले विश्वास लिएको छ । महायज्ञबाट २० देखि २५ लाख आम्दानी र १० देखि १२ लाख खर्च भई १०–१२ लाख रुपैयाँ बचत हुने अपेक्षा राखिउको कोषाध्यक्ष रमा घिमिरेले जानकारी दिइन् ।
स्थानीय देवबहादुर कार्कीले दान गरेको २ कट्ठा जग्गामा मन्दिर तथा पितृभवन निर्माण गरिएको छ ।
