झापा । आगामी मंसिरमा सञ्चालन हुने तय भएको दशौँ राष्ट्रिय खेलकुदलाई लक्षित गर्दै झापामा जिल्लास्तरीय छनोट प्रतियोगिता आजदेखि सञ्चालन हुँदैछ ।
कोशी प्रदेश खेलकुद विकास बोर्डको सूचनाअनुसार खेलाडी दर्ता प्रक्रिया पूरा भएसँगै आजदेखि जिल्लाका विभिन्न स्थानमा २५ विधाका खेलको छनोट प्रतियोगिता सञ्चालन हुने झापा जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।
कार्यालय प्रमुख विष्णुकुमार नेम्बाङका अनुसार आज दिउँसो मेची रंगशालामा प्रतियोगिताको औपचरिक उद्घाटन हुनेछ ।
करिब ७५० खेलाडी र एकसय बढी प्रशिक्षक–निर्णायकको सहभागिता रहने छनोट प्रतियोगिताअनतर्गत मेची रंगशालामा कबड्डी, आर्चरी, ब्याडमिन्टन, जुडो र भारत्तोलनको छनोट खेल हुनेछ । भद्रपुरकै सेन्ट जेभियर्स स्कूलमा एथलेटिक्स खेलाइनेछ ।
त्यस्तै दमकमा आईटीएफ कराते र बुद्धिचाल, कनकाईमा भलिबल, अर्जुनधारामा फुटबल, कराते, तेक्वान्दो र उसु, विर्तामोडमा बक्सिङ, शारीरिक सुगठन, टेबलटेनिस र बास्केटबल र मेचीनगरमा क्रिकेट खेलको छनोट प्रतियोगिता हुने समितिका अध्यक्ष शेखर कँडेलले जानकारी दिए । उनका अनुसार साइक्लिङ, हक्की, रग्बी, पोडी, कुस्ती, सेपाक्ताक्रो र सुटिङका लागि दर्ता भएका खेलाडीहरुले सोझै कोशी प्रदेशस्तरीय छनोट प्रतियोगितामा सहभागिता जनाउनेछन् ।
अन्य विधामा झापामा आजदेखि हुने छनोट प्रतियोगिताबाट छनोटमा परेका खेलाडीले प्रदेशस्तरीय प्रतियोगितामा सहभागिता जनाउने अध्यक्ष कँडेलले जानकारी दिए ।

