भद्रपुरमा असोज २५ देखि रात्रिकालीन फुटबल हुने

झापा । झापाको सदरमुकाम भद्रपुरमा युवाहरूलाई खेलकुदप्रति आकर्षित गर्दै प्रतिभावान खेलाडीको पहिचान र प्रोत्साहन गर्ने उद्देश्यले प्रथम ब्रदर्स युनाइटेड क्लबस्तरीय रात्रीकालिन नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

ब्रदर्स युनाइटेड क्लब भद्रपुर–९ को आयोजना तथा भद्रपुर नगरपालिका वडा नं. ९ को सह–आयोजनामा सञ्चालन हुने प्रतियोगिताका विषयमा शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।

७–ए–साइड ढाँचामा फ्लडलाइटको उज्यालोमा आयोजना गर्न लागिएको रात्रिकालीन प्रतियोगिता भद्रपुर ९ स्थित केदारश्वर टोलको जीवनज्योति आधारभूत विद्यालयको खेलमैदानमा सञ्चालन हुनेछ । प्रतियोगिताको उद्घाटन असोज २५ गते आइतबार घटस्थापनाको दिन हुनेछ भने असोज ३१ गते शनिबार फूलपातीका दिन समापन गरिनेछ। खेलहरू प्रत्येक दिन साँझ ५ बजेदेखि सञ्चालन हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताअन्तर्गत क्लबस्तरीय विधाका विजेतालाई एक लाख ११ हजार १११ रुपैयाँ र उपविजेतालाई ५५ हजार ५५५ रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । प्रथम पुरस्कार भद्रपुर ९ निवासी युवा उद्यमी राजकुमार राईले प्रदान गर्ने बताइएको छ ।

भेट्रानतर्फको विजेताले २१ हजार रुपैयाँ र उपविजेताले ११ हजार रुपैयाँ प्राप्त गर्नेछन् । पत्रकार सम्मेलनमा प्रतियोगिताको औचित्यमाथि क्लबका सल्लाहकार राजेश निरौलाले प्रकाश पारेका थिए । क्लबका अध्यक्ष रविन सुब्बा फागोको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव युवराज ढकालले गरेका थिए ।

भद्रपुर नगरपालिका वडा नं ९ का वडाध्यक्ष रामप्रसाद दाहालसमेतको उपस्थिति रहेको कार्यक्रममा प्रतियोगिताका खेल संयोजक यादवप्रसाद भट्टराईले प्रतियोगिताका लागि स्वतःस्फूर्त रुपमा सहयोग जुटिइरहेको जानकारी दिए । उनले प्रतियोगिता सम्पन्न गर्न करिब २० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको पनि बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds