भद्रपुर झापा गोल्डकपले झापामा अन्तरपालिका फुटबल लिग गर्ने

भद्रपुर । भद्रपुर झापा गोल्डकपले झापा जिल्लास्तरीय अन्तरपालिका लिग फुटबल प्रतियोगिता गर्ने भएको छ ।

गोल्डकप कार्यसमितिको आइतबार मेची रंगशालास्थित गोल्डकप सचिवालयमा सम्पन्न बैठकले उमेर समूहको लिग फुटबल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो ।

आउँदो भद्रपुर झापा गोल्डकप प्रतियोगिताहरुमा भद्रपुर झापा गोल्डकपको उत्कृष्ट टिम तयार गर्ने उद्देश्यले झापा लिग सञ्चालन गर्न लागिएको गोल्डकपका अध्यक्ष दिपेश ढकालले जानकारी दिए ।
लिगमार्फत खेलाडी छनोट गरेर आयोजकको टिमबाट खेल्ने खेलाडी सबै झापाकै बनाउनका लागि लिग प्रतियोगिता गरिने अध्यक्ष ढकालले बताए ।

आउँदो हिउँदमा लिग सुरु गर्नेगरी तयारी भइरहेको महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिए । झापामा ८ वटा नगरपालिका र ७ वटा गाउँपालिका गरी १५ पालिका छन् ।

त्यस्तै, भद्रपुरमा बाल फुटबल प्रशिक्षण परियोजना सञ्चालन गर्ने बैठकले निर्णय गरेको छ । त्यसका लागि नगरपालिका क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीलाई समूहमा विभाजन गरी कार्यक्रम गरिने गोल्डकपका वरिष्ठ उपाध्यक्ष आदित्य पराजुलीले बताए ।

पराजुलीका अनुसार १४ देखि १६ र १७ देखि १९ वर्ष उमेर समूहमा विद्यार्थीलाई विभाजन गरी भद्रपुर झापा गोल्डकप बाल फुटबल प्रशिक्षण कार्यक्रम यही बैशाखमा सञ्चालन गरिनेछ ।

यसैबीच, बैठकले मेची रंगशालाको स्तरोन्नतिका लागि खेलमैदानको पूर्व÷उत्तर–दक्षिणतर्फको भागमा पक्की प्यारापिट निर्माण तथा रात्रिकालीन खेल गर्न गराउन आवश्यक फ्लड लाइट जडानका लागि सरकारसँग बजेट माग गर्ने निर्णय गरिएको उपाध्यक्ष मनोज सुब्बाले जानकारी दिए ।

सुब्बाका अनुसार झापाका स्थानीय तह, संघीय तथा प्रदेश सरकारका विभिन्न मन्त्रालयसँग आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रममा बजेट तथा कार्यक्रम माग गर्ने निर्णय गरिएको हो ।
बैठकले गोल्डकपको हालसम्मको आय–व्यय पनि पारित गरेको कोषाध्यक्ष गणेशमान राजभण्डारीले जानकारी दिए । केही सहयोग रकम उठन् बााँकी रहेको र केही भुक्तानी पनि बाँकी रहेकोले अन्तिम वासलात तयार हुन केही दिन लाग्ने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *