भद्रपुरको शिव पाञ्चायन मन्दिरमा महाआरतीको तयारी

झापा । आसन्न महाशिवरात्रीको अवसरमा झापाको भद्रपुर नगरपालिका–९ स्थित श्रीरामेश्वर शिवपञ्चायन मन्दिर समावेशी धामले महा आरतीको तयारी गरेको छ ।
यही फागुन २५ गते पर्ने महान पर्व महाशिवरात्रीका दिन साँझ महाआरती गर्ने गरी तयारी गरिएको हो । यो महा आरती भद्रपुरमै पहिलो पटक हुने भएको छ ।
मन्दिर व्यवस्थापन समितिको आयोजना तथा जमदारचोक युवा परिवारको सहआयोजनामा महाशिवरात्रीमा महाआरती र सांगीतिक भजन साँझ गर्न लागिएको आज सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ ।
पशुपतिनाथ मन्दिरको जस्तै महाआरती गर्न लागिएको र त्यसका लागि चाहिने सामग्री भारतको वनारसबाट ल्याइसकिएको समितिका अध्यक्ष सरोज निरौलाले जानकारी दिए । ‘हाम्रो प्रतिबद्धता ः धार्मिक समावेशीता र सामाजिक सहिष्णुता’ भन्ने नाराका साथ भद्रपुरमै पहिलो पटक हुन लागेको यस्तो धार्मिक कार्यक्रम सफल बनाउन धार्मिक व्यक्तित्वहरुबाट सहयोगको अपेक्षा गरिएको अध्यक्ष निरौलाले बताए ।
महाआरती पश्चात धार्मिक वक्ताबाट शिव महिमा वाचन हुनेछ भने सांगीतिक साँझअन्तरगत पुष्पन प्रधान र कृपा पौडेलले संगीतमय भजन प्रस्तुत गर्ने उनले बताए ।
कार्यक्रम सम्पन्न गर्न करिब १० लाख रुपैयाँ खर्च हुने जनाइएको छ । जमदारचोक युवा परिवारका अध्यक्ष पदम अधिकारीले खर्च व्यवस्थापनका लागि देशविदेशमा रहेका विभिन्न दाताहरुबाट स्वेच्छिक सहयोग संकलन गरिरहेको बताए। धामको प्रचार–प्रसार र चौतर्फी विकासका लागि कार्यक्रमको आयोजना गर्न लागिएको उनको भनाइ छ । २०६० सालमा महाशिवरात्रीकै दिन स्थापना गरिएको मन्दिरले प्रत्येक वर्ष यसै दिन विविध धार्मिक कार्यक्रम गर्दै आइरहेको छ ।
करिब ६ कठ्ठा क्षेत्रफलमा रहेको मन्दिरलाई धामको रुपमा विकास गर्ने लक्ष्यका साथ काम भइरहेको व्यवस्थापन समिति उपाध्यक्ष गोपालकृष्ण भट्टराईले बताए ।
मन्दिर परिसरमा बहुउपयोगी सामुदायिक भवन निर्माणाधीन अवस्थामा छ । सरकारको सहयोगमा भवनको आधार र पिलर उठाइएको छ । भवनलाई पूर्णता दिन संघ, प्रदेश र स्थानीय सरकारसमक्ष पहल भइरहेको छ भने स्थानीय मनकारी दाताहरुको साथ समेत खोजिँदैछ ।
गुरुकूल सञ्चालनको लक्ष्य लिएको धाममा हाल ६ वर्षदेखि १५ वर्षसम्मका ४० जना बालबालिकाले नैतिक र आध्यात्मिक शिक्षा समेत लिइरहेका छन् ।
पत्रकार सम्मेलनमा व्यवस्थापन समितिका कोषाध्यक्ष अम्बरबहादुर अधिकारी, युवा परिवारका सूर्यबहादुर अधिकारी, किशोर खत्री, छवि घिमिरे, गंगा थापा लगायतको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *