झापा गोल्डकप ः एपीएफ सेमिफाइनलमा

झापा । टाइब्रेकरमा लगातार सफलता हासिल गर्दै विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) फुटवल क्लव झापाको विर्तामोडमा जारी छैठौं झापा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
एपीएफले आज सोमबार भएको पहिलो क्वार्टर फाइनल खेलमा टाइबैकरमा बागमती युथ क्लवलाई ४–३ गोल अन्तरले पराजित गर्दै सेमिफाइनल यात्रा सुरक्षित गरेको हो ।
एपीएफका तर्फबाट सुमन श्रेष्ठ, फोडे फोफोना, कुलदीप कार्की र प्रदीप लामाले गोल गरे । बागमतीका अभि लामा, विमल घिसिङ र दिवस लिम्बूले गोल गरे भने निर्मल घिसिङ र अनिल राना मगरको प्रहार एपीएफका गोलरक्षक एञ्जल श्रेष्ठले विफल बनाएका थिए ।
एपीएफ ए डिभिजन लिगबाट रेलिगेसनमा परेको छ । यद्यपि, एपीएफले अर्को क्लवमाथि गरेको उजुरी छानबिन नभएसम्म यसको निर्णय भएको छैन ।
एपीएफले पहिलो चरणको खेलमा टाइब्रेकरमा संकटा फुटवल क्लवलाई हराउँदै क्वार्टर फाइनलको यात्रा तय गरेको थियो ।
सी डिभिजनको बागमती युथ क्लवले झापा गोल्डकपमा पहिलोपटक सहभागिता जनाएको हो । बाई पाएर क्वार्टर फाइनल खेलेको बागमतीले उत्कृष्ट प्रदर्शन गरे पनि निर्धारित समयमा स्कोर गर्न भने सकेन । खेलको १० औँ मिनेटमा पेनाल्टी एरियाबाट बागमतीका अनिल राना मगरले गरेको कडा प्रहार फ्रेममा पर्न सकेन । २६ औँ मिनेटमा सनम धिमालले पेनाल्टी एरियाबाट गरेको प्रहार एपीएफका गोलरक्षक एञ्जल श्रेष्ठले पञ्च गरेर बचाए ।
पहिलो हाफको इन्ज्युरी समयमा अग्रता बनाउने अवसर बागमतीले गुमाएको थियो । बागमतीका निर्मल घिसिङको फ्रिकिक बारको नजिकैबाट बाहिरिएको थियो ।
खेलको ५४ औँ मिनेटमा एपीएफका दिपेश धिमालले गरेको प्रहार पोस्टमा लागेर बाहिरिएको थियो । खेलको अधिकांश समय बल नियन्त्रणमा लिए पनि एपीएफको फिनिसिङमा कमजोरी देखिएको थियो ।
खेलपछि भएको पोस्ट म्याच कन्फ्रेन्समा प्रतिक्रिया दिँदै विजेता टिम प्रशिक्षक सुनिल श्रेष्ठले रणनीतिअनुसार खेल प्रदर्शन गर्न नसकेको बताए । उनले झापा जस्तो प्रतिष्ठित गोल्डकपमा जर्सीमा टेपिङ गर्नुपर्ने अवस्था आउनु लज्जास्पद भएको स्वीकारे । टेपिङका कारण खेलाडीले अपेक्षाकृत खेल्न नसकेको बताए । जर्सी अभावका कारण एपीएफले टेप टाँसेर खेल खेलाएको थियो ।
बागमती युथ क्लबका प्रशिक्षक सुनिल श्रेष्ठले पाएको अवसर सदुपयोग गर्न नसकेको बताए । अवसर सदुपयोग गर्न सकेको भए निर्धारित समयमा नै स्कोर हुन सक्ने अवस्था रहेको उनले बताए । खेल अवधिभर एपीएफलाई बागमतीले दबाबमा राखेको थियो ।
खेलको प्लेयर अफ द म्याच एपीएफ फुटवल क्लवका गोलरक्षक एञ्जल श्रेष्ठ घोषित भए । उनले ११ हजार रुपैयाँ नगद पुरस्कार पाए । पहिलो चरणको खेलमा पनि श्रेष्ठ प्लेयर अफ द म्याच भएका थिए ।
मंगलबार दोस्रो क्वार्टर फाइनल खेल एनआरटी फुटबल क्लब काठमाडौँ र चर्च ब्वाइज युनाइटेड काठमाडौँबीच हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *