विर्तामोडको नगर विकास योजना पुस्तिका सार्वजनिक

सौम्य शर्मा
विर्तामोड । झापाको प्रमुख व्यापारिक केन्द्र बनेको विर्तामोड नगरपालिकाले नगर विकास योजना पुस्तिका सार्वजनिक गरेको छ ।

नगरपालिकाको सभाहलमा सोमबार एक कार्यक्रमका बीच नगरपालिकाले आर्थिक वर्ष २०८०÷०८१ को नीति, बजेट तथा कार्यक्रम समेटिएको नगर विकास योजना पुस्तिका सार्वजनिक गरिएको हो ।

नगरप्रमुख पवित्रा महतारा प्रसाईं, उपप्रमुख नगेन्द्र संग्रौला, वडाध्यक्षलगायतका जनप्रतिनिधिहरुले संयुक्त रुपमा नगर विकास योजना पुस्तिका सार्वजनिक गरेका थिए । कार्यक्रममा नगरप्रमुख महताराले सबै पक्षको साथ र सहयोगबाट नगरको समग्र विकास हुने बताइन् ।

सोही कार्यक्रमका बीच विर्तामोड नगरपालिकको आर्थिक ऐन २०८० पहिलो संशोधन विधेयक पास भएको छ । नगरसभाको विशेष अधिवेशनले यसअघि पेश गरेको आर्थिक ऐनलाई संशोधनसहित पास गरेको हो ।

नगरप्रमुख प्रसाईंको अध्यक्षतामा सम्पन्न विशेष अधिवेशनमा नगर उपप्रमुख नगेन्द्र संग्रौलाले संशोधित ऐन प्रस्तुत गरेका थिए । नगरपालिकको आर्थिक ऐन २०८० मा नगरपालिकाले लगाउने सम्पत्ति करका क्षेत्र र दरहरु, भूमिकर, मालपोतको क्षेत्र र दरहरु अघिल्लो वर्षको आर्थिक ऐन २०७९ बमोजिम हुने गरी व्यवस्था गरिएको छ ।

त्यसैबीच, नगरपालिकाले सेवानिवृत्त दुईजना कर्मचारीलाई सम्मानसहित बिदाइ गरेको थियो । सिनियर अनमि पवित्रा संग्रौला र कार्यालय सहयोगी दुर्गाप्रसाद बराललाई सम्मानसहित बिदाइ गरिएको हो ।

उनीहरुलाई नगरप्रमुख महतारा, उपप्रमुख संग्रौला, प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेलगायतले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *