महाशिवरात्रीका दिन भद्रपुरको शिव पाञ्चायन समावेशी धाममा महाआरतीको तयारी

झापा । आसन्न महाशिवरात्रीको अवसरमा झापाको भद्रपुर नगरपालिका–९ स्थित श्रीरामेश्वर शिवपञ्चायन मन्दिर समावेशी धाममा पहिलो पटक महा आरतीको तयारी गरिएको छ । यही फागुन २५ गते पर्ने महाशिवरात्रीको दिन साँझ महाआरती गर्न लागिएको हो ।
धाम व्यवस्थापन समिकिो आयोजना तथा जमदारचोक युवा परिवार पहाँतुबारीको सहआयोजनामा महाशिवरात्रीका दिन सांगीतिक भजन साँझ तथा महाआरती गर्न लागिएको आज सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ । पशुपतिनाथ मन्दिरमा गरिने जस्तै महाआरती गर्न लागिएको र त्यसका लागि चाहिने सामग्री भारतको वनारसबाट ल्याइसकिएको समितिका अध्यक्ष सरोज निरौलाले जानकारी दिए । ‘धार्मिक समावेशीता, सामाजिक सहष्णुता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ भद्रपुरमै पहिलो पटक हुन लागेको धार्मिक अनुष्ठान सफल बनाउन धार्मिक व्यक्तित्वहरुबाट सहयोगको अपेक्षा गरिएको अध्यक्ष निरौलाले बताए ।
महाआरती पश्चात धार्मिक वक्ताबाट शिवमहिमा वाचन हुनेछ भने सांगीतिक साँझअन्तरगत पुष्पन प्रधान र कृपा पौडेलले संगीतमय भजन प्रस्तुत गर्ने उनले बताए । सो साँझ तीनवटा महाआरती र अन्य १०५ आरती गरी १०८ आरती प्रज्वलन गरिने बताइएको छ ।

कार्यक्रम सम्पन्न गर्न करिब १० लाख रुपैयाँ खर्च हुने जनाइएको छ । जमदारचोक युवा परिवारका अध्यक्ष पदम अधिकारीले खर्च व्यवस्थापनका लागि देशविदेशमा रहेका विभिन्न दाताहरुबाट स्वेच्छिक सहयोग संकलन गरिरहेको जानकारी दिए । धामको प्रचार–प्रसार र विकासका लागि पनि विशेष कार्यक्रम आयोजना गर्न लागिएको उनले बताए ।
२०६० सालमा महाशिवरात्रीकै दिन स्थापना गरिएको मन्दिरले प्रत्येक वर्ष यसै दिन विविध धार्मिक कार्यक्रम गर्दै आइरहेको छ ।
करिब ६ कठ्ठा क्षेत्रफलमा फैलिएको मन्दिर परिसरलाई धामको रुपमा विकास गर्ने लक्ष्यका साथ काम भइरहेको व्यवस्थापन समिति उपाध्यक्ष गोपालकृष्ण भट्टराईले बताए ।
मन्दिर परिसरमा बहुउपयोगी सामुदायिक भवन निर्माणाधीन अवस्थामा छ । सरकारको सहयोगमा भवनको आधार र पिलर उठाइएको छ । भवनलाई पूर्णता दिन संघ, प्रदेश र स्थानीय सरकारसमक्ष पहल भइरहेको छ भने स्थानीय मनकारी दाताहरुको साथ समेत खोजिँदैछ ।
गुरुकूल सञ्चालनको लक्ष्य लिएको धाममा हाल ६ वर्षदेखि १५ वर्षसम्मका ४० जना बालबालिकाले नैतिक र आध्यात्मिक शिक्षासमेत लिइरहेका छन् ।
पत्रकार सम्मेलनमा व्यवस्थापन समितिका कोषाध्यक्ष अम्बरबहादुर अधिकारी, युवा परिवारका सूर्यबहादुर अधिकारी, किशोर खत्री, छवि घिमिरे, गंगा थापा लगायतको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *