झापा । भारत सिलिगुडीको खेलकुद सामग्री उत्पादन कम्पनी सिल्को ग्रुप अफ कम्पनीले दुईजना नेपाली अन्तर्राष्ट्रिय फुटबल खेलाडीलाई सम्मान गरेको छ ।
आज झापाको भद्रपुरमा आयोजित समारोहका बीच सिल्कोले भद्रपुर झापा गोल्डकपको समन्वयमा फुटबलर रेजिन सुब्बा र रोहित सुब्बालाई सम्मान गरेको हो ।
रेजिन सन् २०१९ मा १३ औँ साफ च्याम्पियनसिप, सहिद स्मारक ए डिभिजन लिग, सन् २०१८ मा भुटानमा भएको यु–१८ साफ च्याम्पियनसिपका स्वर्णधारी खेलाडी हुन् । त्यस्तै, रोहित यु–१५ र यु–२० साफ च्याम्पियसिपका टोली सदस्य हुन् ।
त्यस्तै, भद्रपुर झापा गोल्डकपका महिला फुटबल खेलाडी तथा प्रशिक्षकलाई एकसेट जर्सी र फुटबल प्रदान गरिएको छ ।
यसैबीच, सिल्को ग्रुप अफ कम्पनीले नेपालमा पहिलोपटक आफ्ना उत्पादनहरु भद्रपुरमा लन्च गरेको छ । यसपछि नेपालका लागि आधिकारिक बिक्रेता तपो स्पोर्टस प्रालि काठमाडौँले देशभर सिल्कोका उत्पादनहरु बिक्री वितरण गर्नेछ । कार्यक्रमको अवसरमा सिल्को र तपो स्पोर्टस्बीच सम्झौतामा हस्ताक्षर भएको छ ।
सिल्कोले फुटबल, क्रिकेट लगायत सबै प्रमुख खेलका किट्स, जर्सी र एसोसरीहरु विगत ४५ वर्षदेखि उत्पादन गर्दै आएको छ । यो ब्रान्ड भारतको पश्चिम बंगाल, उत्तरपूर्वका राज्यहरु र भूटानमा लोकप्रिय छ ।
समारोहमा प्रमुख अतिथि भद्रपुर नगरप्रमुख गणेश पोखरेल, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी, सिल्कोका प्रबन्ध निर्देशक खोकन भट्टाचार्जी, झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामा, प्रहरी उपरीक्षक मिलन केसी, सशस्त्र प्रहरी उपरीक्षक कविन्द्र राईलगायतले शुभकामना व्यक्त गरेका थिए ।
भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकालको अध्यक्षतामा भएको समारोहमा उपाध्यक्ष गौरव सुब्बाले स्वागत गरेका थिए भने सञ्चालन महासचिव जीवनकुमार श्रेष्ठले गरेका थिए ।